जापानमा रहेका एक नेपाली युवालाई कोरोना भाइरसको आशंका, विशेष निगरानीमा उपचार हुँदै
टोकियो । चीनको वुहाबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोनाको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखिएको छ ।
राजधानी टोकियोको शिनोकुबोमा परिवारको साथमा बस्दै आएका काठमाडौंका एक २६ वर्षीय नेपाली युवालाई कोरोना संक्रमणको लक्षण देखिएपछि विशेष निगरानीमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ ।
प्राप्त जानकारी अनुसार उनलाई ४ दिनअघि रुघा, खोकी र श्वास प्रस्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परीक्षणको लागि अस्पताल पुर्याइएको थियो । उनलाई कोरोनाको आशंकामा हाल टोकियोको एक अस्पतालमा तीनदिनदेखि स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ ।
उनी केहिदिन अघि ओकुबो शिनओकुबो क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा खाना खान गएका थिए । खाना खाएर फर्केको अर्को दिनबाट उनको स्वास्थ्यमा समस्या आएको बुझिएको छ । यो क्षेत्रमा कोरियन, चिनियाँ तथा नेपाली नागरिकहरूको बाक्लो आवतजावत रहने गर्छ।
उनलाई सोही होटलमा खाना गएको बेला कोरोना सरेको आशंका गरिएको छ । यद्यपि अहिलेसम्म उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छैन । स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेको अवस्थामा उनलाई कोरोना नै संक्रमण भएको हो कि होइन भन्ने पुष्टि भएको छैन।
Facebook Comment