आईसीसी विश्वकप लीग–२ : नेपालको परम्परागत कमजोरी हावी भएपछि…

डिसी नेपाल
२२ माघ २०७६ २१:११

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लीग–२ मा नेपालले हारबाट आफ्नो यात्रा सुरु गरेको छ। बुधबार घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो। घरेलु मैदानमा पहिलो एकदिवसीय क्रिकेट श्रृङ्खला हुँदा खेलाडीदेखि दर्शकसम्म सबैले जीतबाट शुरुवात गर्ने आशा गरे पनि उक्त आशा निराशामा परिणत भएको छ।

ओमानले दिएको १९८ रनको सामान्य लक्ष्य पनि नेपालले पुरा गर्न सकेन। नेपालले १७९ रन बनाउँदा १९ बल बाँकि छँदै सबै विकेट गुमायो। नेपालको हारमा परम्परागत ब्याटिंग समस्या बुधबार पनि बल्झियो। खराब ब्याटिङ नै हारको मुख्य कारक बन्यो।

नेपाली राष्ट्रिय टिममा एकदिवसीय खेलमा ओपनिङ जोडीको निकै समस्या रहेको छ। बुधबारको खेलमा नेपालका लागि टी–२० मा ओपनिङ गर्दै आएका निवर्तमान कप्तान पारस खड्का कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्न मैदानमा उत्रिए। शुरुको दुई ओभरमा नेपालले एक रन पनि जोड्न सकेन । ज्ञानेन्द्र १ र पारस ३ रन बनाएर आउट हुँदा नेपाल शुरुमै धर्मरायो। नेपालको पुरानै रोगको रुपमा रहेको ओपनिङ यसपटक झन विकराल बन्यो।

नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि खेलेको खेलमा प्रत्येक देशसँग फरक फरक ओपनिङ जोडी प्रयोग गरिरहेको छ।

नेपालले एक दिवसीय मान्यता पाएपछि खेलेको पहिलो खेलमा नेदरल्याण्डविरुद्ध ज्ञानेन्द्र मल्ल र अनिलकुमार साह ओपनिङ गर्न आएका थिए। तर नेदरल्याण्डसँगकै दोस्रो खेलमा नेपालले ओपनिङमा परिवर्तन गर्यो। ज्ञानेन्द्र मल्ल यथावत रहे पनि उनीसँग सुवास खकुरेल ब्याटिङ गर्न आए।

त्यसपघि यूएईसँगको तीन एकदिवसीयमा नेपालका लागि ज्ञानेन्द्र मल्ल र विकेटकिपर बिनोद भण्डारीले ओपनिङ गरे। यसरी नेपालको लागि स्थायी ओपनिङ जोडी नहुँदा मध्यक्रमका ब्याट्सम्यानलाई रन बनाउन गाह्रो भइरहेको अनुमान लगाउन सकिन्छ।

यसैगरी नेपालको अर्को समस्या ब्याटिङमा रहेको छ। कप्तान मल्लले लामो समयदेखि राम्रो रन बनाउन सकिरहेका छैनन् अर्थात उनले आफ्नो लय भेटउन सकिरहेका छैनन्। पछिल्लो समय टी–२० होस या एकदिवसीय उनको ब्याटिङ ‘फ्लप’ भईरहेको छ। आफ्नो लय गुमाइरहेका मल्ललाई कप्तानीको भारले गर्दा पनि रन बनाउन गाह्रो भइरहेको हुन सक्छ। लामो समयदेखि कप्तान रहेका पारस खड्काको राजीनामापछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कप्तानीको जिम्मेवारी दिएको थियो।

बुधबारको खेल हार्नुमा पनि ब्याटिङ प्रमुख समस्या बन्यो। ओपनिङ जोडीलाई सुरुवातमै गुमाएको नेपाललाई शरद भेषवाकर र दीपेन्द्र सिंह ऐरीले ६० रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए। तर ऐरी ३६ रन बनाएर आउट भएपछि नेपालको पारी पुनः धरमरायो। त्यसपछि आएका टिमका मुख्य दुई ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपाल झन समस्यामा पर्यो।

टिमका मुख्य ब्याट्सम्यानको रुपमा लिइएका आरिफ शेख ६ रन बनाएर तथा रोहित कुमार पौडेल शून्य रनमै आउट भएका थिए। सातौं नम्बरमा ब्याटिङ गर्न आएका बिनोद भण्डारीले शरदसँग मिलेर नेपालको ईनिङ्सलाई उकास्ने कोसिस गरेका थिए।

बिनोदपछि आएका करन केसी पनि शून्यमै आउट भएपछि जितको आशा हराएको थियो। तर सन्दीप लामिछानेले केही बाउंड्रीसहित २८ रन बनाउँदा नेपाल पुनः एक पटक खेलमा फर्किएको थियो। लगत्तै ५५ रन बनाएर क्रिजमा टिकीरहेका शरद आउट भएपछि भने हार निश्चित भएको थियो।

कप्तान ज्ञानेन्द्र मल्ले पनि बुधबारको खेलमा ब्याटिङमा राम्रो सुरुवात गर्न नसकेको बताएका छन्। यस्तै उनले बलिङमा पनि अन्तिम चार ओभरमा बढि रन खर्चिएको बताएका छन्। पछिल्लो चार ओभरमा नेपालका बलरले ४२ रन दिएर २ विकेट लिएका थिए। अन्तिम ओभरमा मात्रै करन केसीले दुई छक्का सहित १७ रन दिएका थिए।

नेपालको लागि यस पटकको एक दिवसीय सिरिज निकै महत्वपूर्ण रहेको छ। यो सिरिज सिरिजमात्र नभएर विश्वकप छनोटकमा यात्रा पनि हो। विश्वकप छनोटका लागि आईसीसीले नयाँ संरचना लागु गरेपछि नेपालले विश्वकप लिग २ मा पनि ओमानविरुद्ध खेल्दै डेब्यु गरेको छ। नेपाल र ओमानसंगै अमेरिका सम्मिलित सिरिज माघ २९ गतेसम्म चल्नेछ।

७ राष्ट्र सहभागी यस सिरिजको अंक तालिकामा नेपालसँग सिरिज खेल्न आएको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने आजको जीतपछि १० अंक जोड्दै ओमान दोस्रो स्थानमा उक्लेको छ।

नेपाले पहिलो खेल हारे पनि पपुवा न्यूगिनी भन्दा अघि छ। पपुवा न्यूगिनीले अहिलेसम्म खेलेको सबै ८ खेल हारेको छ। नेपाल रन रेटमा अघि रहेको हो। नेपालले अझै ओमानसँग एक र अमेरिकासँग ग दुई खेल खेल्न बाँकी छ।

मल्लले अब यस खेलका कमजोरी सुधार गर्दै अर्को खेलमा राम्रो खेल्नुपर्ने बताएका छन्। उनले भने, ‘अर्को खेलमा हार भन्दा पनि राम्रो खेल्ने र जित्नका लागि सोच्नुपर्छ। सकरात्मक सोच्नुपर्छ। हामीले आज राम्रो बलिङ गर्यौं, त्यसमा अलिकति सुधार गर्नुपर्छ। ब्याटिङमा खास गरेर अगाडि देखि राम्रो गर्न सक्यौं भने राम्रो हुन्छ।’ आगामी खेलमा राम्रो प्रदर्शन गर्ने उनले बताए ।

लिग २ मा बिहीबार ओमानले अमेरिकासँग खेल्नेछ। नेपालले भने अब दुई दिन आराम पाउनेछ। नेपालले दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ भने आइतबार ओमानसंग दोस्रो खेल खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *