मेस्सीले बार्सिलोना छाडेर म्यान्चेस्टर सिटी जान सक्छन्

डिसी नेपाल
२३ माघ २०७६ ८:३७

काठमाडौँ । स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटी जाने चर्चा चुलिएको छ । मेस्सी र बार्सिलोना व्यवस्थापनबीच सार्वजनिक रुपमा भएको विवादलाई हेर्दै मेस्सीले बार्सिलोना छाड्न सक्ने दावी गरिएको छ । केही दिनअघि मात्र मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी र हालका स्पोर्टिंग निर्देशक एरिक अबिडाललाई सार्वजनिक रुपमै कटाक्ष गरेका थिए । यसलाई मेस्सीको बार्सिलोना छाड्ने संकेतका रुपमा बुझिएको फक्स स्पोर्टसले लेखेको छ

अबिडालले केही दिनअघि बार्सिलोनाका खेलाडीहरु पूर्व प्रशिक्षक अर्नेस्टो भालभर्देसँग असन्तुष्ट रहेको र सोही असन्तुष्टिका कारण खेलाडीहरुले राम्रो खेल नखेलेको आरोप लगाएका थिए । लगत्ते मेस्सीले खेलाडीको बचाउमा उत्रिँदै अबिडाललाई यदि कुनै खेलाडीले त्यस्तो गरेको भए ती खेलाडीको नाम तोक्न चुनौती दिएका थिए । मेस्सीको यो कडा प्रतिक्रियालाई उनको बार्सिलोना छाड्ने तयारीको रुपमा बुझिएको छ ।

मेस्सीको प्रतिक्रियापछि विश्वका अन्य क्लबहरुले मेस्सीलाई आफूसँग अनुबन्ध गराउन तयारी थालेको समाचारमा उल्लेख छ । समाचारमा प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले यस विषयमा सबैभन्दा धेरै प्रयास गरेको उल्लेख छ । मेसीको बार्सिलोनासँग अर्को सिजनको अन्त्यसम्म सम्झौता छ । सम्झौताअनुसार बार्सिलोनासँगको सम्झौता अवधि सकिएपछि मेस्सी त्यहाँबाट निःशुल्क अन्य क्लवमा जान पाउनेछन्, उनलाई लैजाने क्लवले ट्रान्सफर क्लज तिर्नुपर्ने छैन ।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाको बार्सिलोनाको उच्च व्यवस्थापनसँग राम्रो सम्बन्ध रहेकाले सिटीले यसको फाइदा उठाउन सक्ने समाचारमा उल्लेख छ । मेस्सी र ग्वर्डीओलाले चार सिजनमा सँगै तीन पटक स्पेनिस ला लिगा र दुई पटक च्याम्पियन्स लिग जितेका छन् । म्यानचेस्टर सिटी विश्वका केही सीमित क्लबमा पर्दछ जसले मेसीको बार्षिक करिब ६४ मिलियन डलरको पारिश्रमिक दिने हैसियत राख्दछ । हालै अरबी लगानी थपिएपछि सिटी विश्वकै मूल्यवान क्लव बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *