अख्तियारको विरोधमा नेविसंघ र तरुण दलले सडक आन्दोलन गर्ने

डिसी नेपाल
२३ माघ २०७६ २१:१२

काठमाडौं। चर्चित बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहमा मुद्दा दायर गरिएको भन्दै काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले सडक आन्दोलन गर्ने भएका छन्।

तरुण दलले यही माघ २६ गते देशभर प्रदर्शन गर्न निर्देशन दिएको छ भने नेविसंघले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बिहीबार ७७ वटै जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै माघ २६ गते प्रदर्शन गर्न भनेका छन्।

यस्तै नेविसंघले पनि शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गरिएको जनाएको छ।

बालुवाटार प्रकरणमा अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। त्यसमध्य गच्छदारमाथि ९ करोड ६५ लाख रुपैयाँ बिगो र १३ वर्ष कैद सजायको माग गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

गच्छदारले तत्कालीन भौतिक योजनामन्त्रीका हैसियतमा प्रधानमन्त्री निवास बालुवाटारको सडक चौडा गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए। र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषदले सो प्रस्ताव निर्णय गरेको थियो। अख्तियारले भने प्रस्ताव लैजाने गच्छदारमाथि मुद्दा दायर गरेको छ भने प्रधानमन्त्री नेपालमाथि क्षेत्राधिकारको कारण भन्दै मुद्दा चलाउनु नपर्ने जनाएको छ। यस्तै बालुवाटारको सरकारी जग्गा मध्ये ८ आना जग्गा आफ्नो छोराको नाममा बनाएका नेकपा महासचिब विष्णु पौडेलमाथि पनि अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको छ।

यसैकारण काँग्रेसले अख्तियारको नियतमाथि प्रश्न उठाउँदै आफ्ना नेता गच्छदारमाथि राजनीतिक पूर्वाग्रहमा मुद्दा चलाइएको आरोप लगाएको छ। काँग्रेसले बिहीबार संसदसमेत अवरोध गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *