विश्व स्वास्थ्य संगठनको मापदण्डले चीनबाट नेपालीको उद्धारमा ढिलाई

काठमाडौं। चीनको हुवेई प्रान्त रहेका नेपालीले विद्यार्थीले आफूहरुलाई उद्धार गर्न भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएको शुक्रबार ६ दिन बितिसक्दा पनि उनीहरुको उद्धार कहिले हुने ठेगान छैन।
नेपाल सरकारले पनि नेपालीहरुको उद्धार कहिले हुन्छ भन्ने निश्चित गर्न सकेको छैन। शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ढिलाई हुनुको कारण खुलाएका छन्।
चीनमा रहेका विद्यार्थीका अभिभावकसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले आवश्यक तयारी पूरा नहुँदा उद्धार गर्न नसकिएको स्वीकार गरेका छन्। उनले अभिभावकहरुसँग कोरोनालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी संकट घोषणा गरेको भन्दै उसको मापदण्ड पूरा नगरेसम्म उद्धार गर्न नसकिने बताएका छन्।
डब्ल्यूएचओको मापदण्डअनुसार चीनबाट उद्धार गरिएका विद्यार्थीलाई कम्तिमा १५ दिन आइसोलेशनमा राख्नुपर्छ। र स्वास्थ्य सेवा, संक्रमण भए गरिने उपचारको ग्यारेण्टी, संक्रमण फैलिन नदिने पर्याप्त संयन्त्रको व्यवस्था हुनुपर्छ।
चीनले पनि नेपालमा उद्धार गरिएकाहरुलाई डब्ल्यूएचओको मापदण्डअनुसार राख्न नसक्ने भए उद्धार नगर्न भनिसकेको छ।
चीनमा रहेका विद्यार्थीका अभिभावकहरुले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री ज्ञवालीसँग शुक्रबार भेटेर उद्धार गर्न माग गरेका थिए। उता चीनको हुवेईबाट पनि विद्यार्थीहरुले आफूहरुलाई उद्धार गर्न भन्दै सन्देश पठाइरहेका छन्। बेइजिङस्थित दूतावासमा १८० जना विद्यार्थी उद्धार गरिदिन भन्दै निवेदन दिएका छन्।
Facebook Comment