राष्ट्रपति ट्रम्पद्वारा आफूबिरुद्ध बयान दिने राजदुत बर्खास्त

डिसी नेपाल
२५ माघ २०७६ ७:२८

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोग प्रकरणमा आफूविरुद्ध बयान दिने युरोपेली युनियनका लागि अमेरिकी राजदुत गोर्डन सन्डल्याण्डलाई पदबाट बर्खास्त गरेका छन् । राजदुत गोर्डनलाई बर्खास्त गर्नु केही घण्टाअघिमात्र उनले ह्वाइट हाउसका सुरक्षा अधिकारी अमेरिकी सेनाका कर्णेल भिण्डमनलाई पनि ह्वाइट हाउसबाट निकालेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा मामिला हेर्ने अधिकारीलाई हवाइट हाउसबाट निकालेर पेन्टागनमा फिर्ता पठाएको आज बताइएको थियो । महाअभियोगका क्रममा उनले ट्रम्पविरुद्ध बयान दिएका थिए । महाभियोगसम्बन्धी प्रस्ताव सिनेटबाट अस्वीकृत भएपछि ट्रम्पले यसलाई आफ्नो ठूलो विजयका रुपमा लिएका छन् ।

राजदुत सन्डल्याण्डलाई राष्ट्रपति ट्रम्पले नै राजदूत पदमा नियुक्त गरेका थिए । उनी व्यापारी पनि भएको र उनले राष्ट्रपति ट्रम्पको पहिलो पदभार ग्रहणका बेला भएको विशेष समारोहका लागि ठूलो आर्थिक सहयोगसमेत गरेका थिए । उनलाई हटाइएको बारे प्रतिक्रिया दिंदै नालामा भएका फोहोरहरु सफा गरिएको र त्यो अत्यावश्यक भएको ट्रम्पका एक सल्लाहकारले बताएको भन्दै सीएनएनले समाचार प्रसारण गरेको छ ।

राजदुत सन्डल्याण्डले एक विज्ञप्ति जारी गर्दै आफूलाई राष्ट्रपतिले फिर्ता बोलाएको खवर पाएको भन्दै राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पम्पेओसंग काम गर्न पाएकोमा आफू आभारी भएको बताएका छन् र उनले आफ्नो कामप्रति गौरवान्वित भएको बताएका छन् ।

उता, लेफ्टिनेन्ट कर्णेल अलेक्जाण्डर भिन्दमानलाई राष्ट्रिय सुरक्षा परिषद्बाट पेन्टागन पठाइएको जनाइएको थियो । उनले राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीका बीचको टेलिफोन संबादबारे संसदको महाभियोग सुनुवाई समितिमा बयान दिएका थिए ।

उनी यो प्रकरणमा सत्य बोल्ने सुरक्षा अधिकारी ठानिएका थिए । उनलाई सत्य बोले बापतकोे सजाय दिइएको उनका वकिलले बताएका छन् । ट्रम्प विरुद्धको महाअभियोगलाई गएको बुधबार सिनेटले अस्वीकृत गरेको थियो । अमेरिकी मिडियाका अनुृसार भिन्दमानका जुम्ल्याहा भाइ येभगेनी जो राष्ट्रिय सुरक्षा परिषद्का वकिल थिए, उनलाई पनि बर्खास्त गरिएको छ ।

नर्थ क्यारोलिनामा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू ती सुरक्षा अधिकारीसँग खुसी नभएको बताएका थिए । हाउसको विदेश मामिलासम्बन्धी समितिका सभापति इलियट एन्जेलले ह्वाइट हाउसको कदमलाई लज्जाजनक कार्य भनेका छन् ।

तस्वीर- सीएनएन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *