ब्यङ्ग्य कविता – “अचम्मका नजिर”
ब्यङ्ग्य कविता
“अचम्मका नजिर”
कानून हो कि नियत उस्तो सकिएन चिन्न
अभियोग र कसुर एउटै सजाय चाँही भिन्न ।
एउटा कृष्ण हावा खाँदै डिल्लीबजार जेलमा
अर्का कृष्ण स्विइकिइ सके हरिद्वारे रेलमा ।
पीडित पनि अचम्मैकी बोल्छिन नानाथरी
छिन मै भन्छिन बाउ जस्ता त छिन मै बलत्कारी ।
न त जाँच भो बलत्कृतको न मुचुल्का उठो
पीडितले भन्दा पनि हो यो मुद्दा झुटो ।
तिन्लाई मात्र राख्नु किन अब खोर भित्र
कानून पनि कोहिलाइ शत्रु कोहिलाइ भने मित्र ।
कानून हो कि हतियार हो शत्रु तह लाउनी
गुटमा लागे सबै माफि नत्र दण्ड पाउनी ।
बच्छन् ठूला आदेश दिने त्यसलाइ सदर गर्ने
कारिन्दा र फायल बोक्ने फन्दा भित्र पर्ने ।
एउटै केसमा मुछिए नि मान्छे अनेक थरी
कोहिलाइ मात्र लाग्छ मुद्दा मान्छे छनोट गरी ।
सबै माथि लाग्नु पर्ने त्यस्तो अख्तियार
कोहिलाइ भने खुस्स भन्छ खाको फिर्ता गर ।
कानून हो कि आदेश हो त्यो उनले आफैँ जानून
फिर्ता गरे दण्ड माफि कस्तो खालको कानून ।
उन्मुक्तिका अनेक काइदा आफ्ना मान्छे पर्दा
कानूनि राज बच्ला र खै यस्ता कृत्य गर्दा ।
एउटै केसका अभियुक्त किन काखा पाखा
बाँकिलाइ नि देउ भो बरु फिर्ता गर्ने भाखा ।
अख्तियारको कदमले कस्तो नजिर आयो
पक्रिएमा फिर्ता गर्यो उसले माफि पायो ।
अर्जुन राज पन्त
(व्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइलीका समेत लेखक हुन)
Facebook Comment