प्रदेशस्तरीय १६ वर्षमुनिको क्रिकेट लिग हुँदै

कास्की । तल्लोस्तरदेखि नै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पोखरामा यही माघ २९ गतेदेखि गण्डकी प्रदेशस्तरीय १६ वर्ष मुनिको अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता आयोजना गरिएको छ ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पहिलोपटक पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा कास्कीका दुईसहित नवलपुर, बाग्लुङ र स्याङ्जाबाट एक/एक गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष बमबहादुर कुँवरले बताए ।
क्रिकेट खेलको विकास तथा उमेर समूहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय/अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ । प्रतियोगिता संयोजक चन्द्र गुरुङले ‘राउण्ड रोविन’ लिगको आधारमा खेलाइने प्रतियोगितामा १० दिनसम्म १० लिग खेल खेलाइने र शीर्ष स्थानमा रहने टोली विजेता बन्ने बताए । विजेताले रु २० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्ने तथा सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याटस्म्यान, बलर तथा हरेक खेलमा ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले प्रतियोगिताबाट नयाँ खेलाडीको विकास गरी व्यावसायिक खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले क्रिकेट विकास गर्न आयोजना गरिएको प्रतियोगितालाई सञ्चारक्षेत्रबाट सहयोग गरिने बताए ।
Facebook Comment