आजदेखि महानिरिक्षक खनालको पदावधि सकिँदै
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि आज (माघ २८) गतेबाट समाप्त हुँदै छ ।
प्रहरी सेवाको ३० वर्षे अवधिका आधारमा खनालले आजबाट अनिवार्य अवकाश पाउँदै छन् ।
खनाल महानिरीक्षकबाट बाहिरिएसँगै प्रहरी सेवामै रहेका वरिष्ठ प्रहरी नायब महानिरीक्षकत्रयबाट नयाँ महानिरीक्षक छानिँदै छ ।
भावी महानिरीक्षकका रूपमा हाल चर्चामा आएका दावेदारमध्ये प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्य उपाध्याय रहेका छन् ।
प्रहरी नियमावली, २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) मा ३० वर्ष सेवा अवधि (नोकरी गरेको ३० वर्ष) पूरा भएमा अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।
खनालसँगै प्रहरी सेवामा रहेका उनकै ब्याची अतिरिक्त महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि अनिवार्य अवकाशमा जाँदै छन्।
यसैबीच नयाँ महानिरीक्षक छान्न सरकारले आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।
Facebook Comment