विद्युतीय भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने
काठमाडौं। सर्वसाधारणले किनमेल गर्दा विद्युतिय भुक्तानी गरेमा भ्याटवापत तिरेको रकमको १० प्रतिशत तत्कालै फिर्ता पाउने भएका छन्। आन्तरिक राजस्व विभागले मंगलबारबाट अनलाईन भुक्तानीमा भ्याट फिर्ता गर्ने कार्यक्रम कार्यान्वयमा ल्याएको हो।
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता गर्ने घोषणा गरेको थियो। तर, यसका लागि आवश्यक तयारी गर्न ढिलाई भएपछि सात महिनापछि मात्र कार्यान्यनमा आएको हो।
भ्याट फिर्ताका लागि विभागले छुट्टै सफ्टवेयर निर्माण गरेको छ। उक्त सफ्टवेयरमा जोडिएका भुक्तानी सेवा प्रदायक मोवाईल बैंकिङ र वालेटमार्फत सर्वसाधारणले भुक्तानी गरेपछि भ्याट वापत तिरेको रकमको १० प्रतिशत तुरुन्तै खातामा फिर्ता हुनेछ।
तत्कालका लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता हुनेछ। बैंकको डेबिट र क्रेडिट कार्डको भुक्तानीमा भने यो सेवा उपलब्ध नभएको र आगामी दिनमा कार्डमार्फत हुने भुक्तानीमा पनि यो कार्यक्रम लागू गरिने विभागले जनाएको छ।
भ्याट फिर्ताका लागि बिक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गर्नुपर्नेछ। यस्तै बिक्रेता र उपभोक्ता पनि सेवा प्रदायकसँग जोडिनु पर्ने व्यवस्था छ।
Facebook Comment