साउदीमा कार्यरत नेपालीको गुनासो : कहिलेसम्म चन्दा उठाएर लास पठाउने ?

डिसी नेपाल
२८ माघ २०७६ १३:४९

रियाद। साउदीमा रहेका नेपालीहरूले सरकारसँग गुनासो पोखेका छन्। उनीहरूले यहाँ कार्यरत श्रमिकहरू समस्यामा पर्दा बारम्बार आफूहरूले चन्दा संकलन गर्नु परेको भन्दै दुखेसो पोखेका हुन्।

रियादस्थित नेपाली राजदूतावासमा गत शुक्रबार श्रमिकहरूको समस्या र समाधानको बारेमा एक अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गरिएको थियो।  कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंह राजपुतसँगै नवनियुक्त श्रम सहचारी जीवनकुमार राई, नेपालदेखि आमन्त्रित मलेसियाका भूतपूर्व राजदूत तथा आइएलओका कन्सल्टेन्ट विषयगत विज्ञ डा. ऋषिराज अधिकारी, साउदी अरबको नेपाली राजदूतावासमा ४ वर्षसम्म  नियोग उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका हरिशचन्द्र घिमिरे, श्रम रोजगार तथा वैदेशिक रोजगार विभागका निवर्तमान महानिर्देशक डा. भिष्मकुमार भुसाल, परराष्ट्र  मन्त्रालयका सहसचिव कुलबहादुर मगर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका शाखा अधिकृत जमुना काफ्‍ले, संविधान सभाका पूर्व सदस्य बिक्रम खनाललगायत रियादमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

रियादमा रहेका क्रियाशील संघ संस्थाहरुको प्रतिनिधिहरूले श्रमिकहरूको समस्याको समाधानको लागि  सल्लाह तथा सुझाब दिने क्रममा साउदीमा कार्यरत नेपालीलाई भइपरि आउने समस्याको समाधान तथा उद्धार गर्न अहिलेसम्म चन्दा संकलन गर्नु पर्ने भएकाले अब उप्रान्त त्यसको सरकारले  वैकल्पिक व्यवस्था खोज्नु पर्ने माग राखेका हुन्। उनीहरूले नेपाली अर्थतन्त्रको बलियो आधार नै विदेशमा काम गर्ने श्रमिकले पठाएको रेमिट्यान्स भएको बताउँदै मुलुकको अर्थतन्त्र थेग्ने वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई नै समस्या पर्दा सरकार उदासिन देखिएको भन्दै आक्रोशसहित दुख व्यक्त गरेका थिए।

उनीहरूले साउदीमा मृत्यु भएका श्रमिकको लास स्वदेश फिर्ता लैजान समेत बारम्बार चन्दा संकलन गर्नु पर्ने अवस्था निकै दुखद भएको बताए। विदेशमा रहेका श्रमिकलाई समस्या पर्दा, विरामी हुँदा र अंगभंग हुँदा पीडितको समस्या समाधान तथा तुरुन्त उद्धार गर्न संघसंस्था नभइ राज्यका सम्बन्धित निकाय सक्रिय हुनुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा साउदीमा कार्यरत श्रमिकको मासिक तलब १ हजार ३ सय  रियाल जसरी हुन्छ कार्यान्वयनमा ल्याउन सुझाव दिएको थियो। उनीहरूले दूतावासबाट १३ सयमा भिसाको अनुमति लिएर पनि १ हजार मात्रै श्रमिकहरुले तलब लिन बाध्य रहेको अवगत गराएका थिए। श्रम गर्दा १५ सय रियालमा श्रम गरे पनि  सम्झौता पत्रमा ८ सय प्लस २ सय  राखेर धेरै नेपाली श्रमिकले १ हजार मात्रै तलब पाइरहेको तर्फ पनि उनीहरूले ध्यानकर्षण गराए।

नेपालमा नर्स पढेका  ब्यक्तिलाई युरोप अस्ट्रेलियामा भन्दा धेरै तलबको ब्यबस्था साउदीमा  रहेको भन्दै लेबरमा मात्रै नभइ  दक्ष जनशक्तिलाई पनि प्राथामिकतमा राख्नु पर्नै उनीहरूको माग थियो । उनीहरूले १० हजारमा वैदेशिक रोजगारमा जान पाउने व्यवस्था  भए पनि लागू नभएकोमा दुखेसो पोख्दै नेपालका म्यानपावर व्यवसायी  अनुसन्धान गर्नको लागि अनुरोध समेत गरेका थिए।

प्रवासमा  नेपाली श्रमिकहरूलाई कम्पनीले दिएको  बिमामा  चौथो दर्जाको  मेडिकल कार्ड दिने भएकाले भनेको जस्तो उपचार गराउन नसकेको हुँदा अझै समस्यमा परेको भन्दै  नेपाल सरकारदेखि नै यस विषयको समाधानमा जोड दिनुपर्ने बिषयमा पनि छलफल गरिएको थियो।

कार्यक्रमको अन्त्यमा नियोग उपप्रमुख दिलिप पौडेलले दूतावाासलाई झुक्केर  १३ सयमा भिषाको अनुमति  लिई रहेको कुरा बाहिर आइरहेको र प्रमाणसहित भेटिएमा कानुन बमोजिमको सजाय भोक्नु पर्ने बताउँदै कुनै पनि हालतमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई दूतावाासले नछोड्ने प्रतिबद्दता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *