एनआरटीलाई पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा

काठमाडौं । ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको हो ।
थ्री स्टारको साँघुरो जितमा दिपेश घलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दिपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले ७७ औं मिनेटमा निर्णायक गोल गरे । सुशील राईको स्थानमा मैदान छिरेका दिपेशले मैदान पसेको चार मिनेट नबित्दै डिबक्स बाहिर प्राप्त बललाई पोस्टको जाली चुमाएका थिए ।
खेलमा थ्री स्टारका गोलकिपर प्रिसो म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ । यस्तै थ्री स्टार प्रतियोगिताको सुपर सिक्समा स्थान पक्का गरेको छ ।
थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङको २२ अंक रहेको छ । थ्री स्टारसँग पराजित एनआरटी १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । यो हारसँगै एनआरटीको शीर्ष ६ को सम्भावना समेत कठिन बनेको छ । शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ ।
Facebook Comment