आर्मी शीर्ष स्थानमा उक्लियो, भरतको ए डिभिजन लिगमा ५० गोल पुरा

डिसी नेपाल
२८ माघ २०७६ १७:२४

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए ।

यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका फरवार्ड समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ए डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् । ए डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । भरतले बिस २०६३ सालमा संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए ।

खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । उनले सन्तोष तामाङको पासलाई सदुपयोग गरे । त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३–० को जित दिलाए । उनले ब्रिगेडका किपर विशाल सुनारले पन्च गर्दै फ्यालेको रिबाउन्ड बलमा गोल गरेका थिए ।

जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । र, शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

आर्मीको जितसँगै लिगको उपाधिको छिनोफानो अन्तिम खेलले तय हुने भएको छ । लिगको अन्तिम चरणको अन्तिम खेलमा आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी र मछिन्द्रबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । आर्मीलाई उपाधि जित्न बराबरीले पुग्नेछ भने मछिन्द्रलाई स्पष्ट जितको आवश्यकता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *