ए डिभिजन लिगः पुलिसलाई हराउँदै मनाङ तेस्रो स्थानमा

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटो मंगलबार १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले एक एक गोल गरे ।
मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाएका थिए । आदित्य चौधरीको पासमा विमलले सुरुवाती गोल गरे ।
त्यसपछि खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को जित दिलाए । निशान लिम्बुले मिलाएको पासमा अन्जनले उत्कृष्ट गोल गरेका थिए ।
यस्तै खेलको ९० औं मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा समेटिएको थियो । मनाङका विमललाई खराब ट्याकल गरेपछि विशालले रातो कार्ड पाएका थिए ।
खेलमा मनाङका गोलकिपर दिप कार्की म्यान अफ दि म्याच चुनिए। पुलिसलाई हराएसँगै मनाङले शीर्ष दुई टोलीसँगको अंक दुरी समेत घटाएको छ । मनाङले १२ खेलमा २५ अंक जोडेको छ ।
मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ र दोस्रो स्थानको मछिन्द्र भन्दा एक अंकले पछि रहेको छ । मनाङको उपाधि होडबाट भने बाहिरीसकेको छ । पराजित पुलिस भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
Facebook Comment