नेपाल प्रहरीको २७औं महानिरीक्षकमा ज्ञवाली

डिसी नेपाल
२८ माघ २०७६ २०:१०

काठमाडौं । नेपाल प्रहरीले ठाकुरप्राद ज्ञवालीलाई २७औं महानिरिक्षकको रुपमा पाएको छ । प्रदेश १ का प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आइजी)मा नियुक्त गरेको छ ।

हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास लिने भएकाले सरकारले ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । तीनै जना प्रहरी अतिरिक्त महानिरीक्षकले समेत आजै अनिवार्य अवकाश लिन लागेकाले सरकारले उनलाई डिआइजीबाट सोझै प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । ज्ञवाली विसं २०७५ असोजमा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए । उनको कार्यकाल मात्र पाँच महिनाको हुनेछ ।

नवनियुक्त ज्ञवाली २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनीहरूको सेवा अवधि आगामी असारसम्मको छ । हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनको नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्किएको थियो । त्यसकारण उनी पाँच महिना ढिला गरी नियुक्ति भएका थिए ।

खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाइ हुँदैछ । बुधबार नवनियुक्त आइजी ज्ञवालीलाई स्वागत गर्ने कार्यक्रम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली २०७२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नभएको खण्डमा डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ ।

नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । सोही आधारमा सरकारले उनलाई नियुक्त गरेको हो ।

यसपटक भने आज रातिदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातको पनि अनिवार्य अवकाश हुँदैछ । उनीहरूसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित आज २२ को अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।

अवकाश पाउन लागेका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *