आइटिएफ टेनिसमा महिला एकलतर्फ नेपालको सुखद नतिजा

कास्की । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको प्रतिष्पर्धामा नेपाली खेलाडीले सुखद नतिजा हासिल गरेका छन् । अघिल्लो दिन पुरुष एकलतर्फको खेलमा नेपालले खराब प्रदर्शन गरे पनि बुधबार भएको महिला एकलको प्रतिष्पर्धामा भने प्रेरणा कोइराला, अभिलाशा विष्ट र सलोनी तामाङ विजयी भए ।
अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही माघ २७ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपालकी कोइरालाले जापानका केइदे हातनोलाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा पराजित गरिन् । त्यसैगरी विष्टले भारतका मिली चुगमाथि ६–३ र ६–२ को सोझो सेटको जित हासिल गरिन् भयो भने तामाङले हङकङका एरिका कामना हागीलाई ६–२ र ६–३ को सेटमा पराजित गरिन् ।
नेपालका श्रवाणी श्रेष्ठ भने भारतीय खेलाडी गर्गी परवारसँग ६–० र ६–१ को सोझो सेटमा पराजित भईन् । चीनका हुवाई चाङले भारतीय खेलाडी हर्दिया शालाई ६–२, ४–६, ६–४, चीनकै सुहाङ लियाङले मलेसियाका हुई ईल सुलाई ७–५ को समान सेट तथा जापानका अइका नागासावाले भारतका रिया उबोभेजालाई ६–३ र ६–४ को सेटमा जित निकाले ।
पुरुष व्यक्तिगततर्फको प्रतिस्पर्धामा जापानका साटोरु नाकाजिमाले भारतीय खेलाडी हीरक भोरालाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे भने भारतका आर्यन लक्ष्मणले भारतकै आदित्य वरदान रोय चौधरीलाई ७–५ को समान सेटमा पराजित गरे ।
भारतीय खेलाडी कृष्ण होडाले हङकङका म्याक्स सुन हाङ वाकमाथि ६–१ र ६–२ को सेटमा जित निकाल्नुभयो भने जर्मनका पाउल अर्मिन अल्ब्रक्टले फ्रान्सका लुकास फन्तलालाई ६–२ र ६–४ को सेटमा पराजित गर्दा जापानका शोगो साण्डाले भारतीय खेलाडी प्राञ्जल तिवारीलाई ३–६, ६–०, ६–२ को सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा नेपालका सम्याक बज्राचार्य र आर्यन गिरीको जोडी ६–३ र ६–४ को सेटमा भारतका आदित्यवरदान रोय चौधरी र जैसभिन सिन्दाको जोडीसँग पराजित भए ।
जापानका साटुरो नाकाजीमा र शोगो साण्डाको जोडीले मलेसियाका हेडन खु मेनन र जापानिज खेलाडी रोहिइ मियाकी को जोडीलाई ६–१, ७–५ को सेटमा पराजित गरेको प्रतियोगिता संयोजक सूर्य भुजेलले जानकारी दिए । प्रतियोगितामा विजेता खेलाडीले अङ्क प्राप्त गर्ने र प्राप्त अङ्कका आधारमा खेलाडीको वरियता निर्धारण हुने बताइन्छ ।
Facebook Comment