दाहालको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति

डिसी नेपाल
१ फागुन २०७६ १९:१०

काठमाडौं। ‘जनयुद्ध दिवस’ को अवसरमा बिहीबार नेकपा मुख्यालय धुमबाराहीमा आयोजित कार्यक्रममा तत्कालीन विद्रोही माओवादीका अध्यक्ष तथा वर्तमान सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति काँग्रेसले आपत्ति जनाएको छ।

कार्यक्रममा दाहालले काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाले आफूहरुलाई ठूल्ठूला आक्रमण गर्न सुझाव दिएको अभिव्यक्ति दिएका थिए। काँग्रेसको उनको यही भनाइप्रति आपत्ति जनाएको हो।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार साँझ प्रेस वक्तव्य जारी गर्दै दाहालको भनाइप्रति आपत्ति जनाएका हुन्।

प्रेस वक्तव्य
‌नेकपाका अध्यक्ष पुस्पकमल दहालले आज एक कार्यक्रममा दिनुभएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ।

१ माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व। गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ।

२ फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो, भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ।

३ ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो। हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ।

४ जिम्मेवार ढंगले कार्य गर्न, कोइरालाले कुनै बेला दहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै, जिम्मेवार अभिव्यक्तिका लागी पनि, सजग गराउँदछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *