प्रदेश सरकार नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुग्यो: मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शून्य संरचनाबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको बताएका छन् । उनले प्रदेश सरकार आधारभूत रुपमा अघि बढ्ने संरचना खडा गर्दै पूर्णतः क्रियाशील हुने वातावरण तयार भएको समेत बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापना दिवशका अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा जननिर्वाचित राजनीतिक नेतृत्वले शून्यबाट काम थाल्दै अघि बढ्दा आज दुई वर्ष पुग्दासम्मको अवधिमा आफूलाई चाहिने आधारभूत कानून निर्माण भएको, प्रदेशको आवधिक योजना तयार भएको र कर्मचारी समायोजन टुङ्गो लागेर प्रशासनिक संरचनासमेत तयार भई क्रियाशील भएको उल्लेख गरेका छन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने औँल्याएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने हँुदा प्रदेश सरकार सङ्घीय शासन व्यवस्थामार्फत जनआकाङ्क्षा पूरा गर्न कृतसङ्कल्पित रहेको बताएका छन् ।
मुख्यमन्त्रीको शुभकामना सन्देशमा संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न बुझाइमा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य जरुरी पर्ने बताएका छन् । उनले संविधानको मर्मलाई आत्मसात् गर्दै सङ्घीयताको व्यावहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको आँैल्याउँदै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई सरकारले पूर्णरुपमा ध्यान दिएको स्पष्ट पारेका छन्।
सङ्घीय सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य र समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार उक्त लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि सङ्कल्पित रहेको स्पष्ट पारेका छन् । साथै मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा प्रदेश स्थापना दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन सम्पूर्णमा अपिल गरेका छन् ।
Facebook Comment