कतारका नेपाली व्यवसायीको गुनासोः करोडौँ लगानी गरेका व्यवसायीलाई मजदुरको व्यवहार गरियो

डिसी नेपाल
४ फागुन २०७६ १३:३४

दोहा । कतारमा रहेका नेपाली व्यवसायीले सरकारसमक्ष गुनासो पोखेका छन् । उनीहरूले नेपाल सरकारले आफूहरूलाई वैदेशिक रोजगारीमा जाने मजदुरलाई गर्ने सरहको व्यवहार गरेको भन्दै भन्दै दुखेसो गरेका हुन् ।

गत शुक्रबार संघका नवनिर्वाचित कार्यसमितिले कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका थिए ।

कतारमा विभिन्न क्षेत्रमा व्यवसायलाई आफ्नो मुख्य कर्म बनाएका नेपाली व्यवसायीहरूको छाता संस्थाका रुपमा स्थापित संघको भर्खरै सम्पन्न पहिलो महाधिवेशनले चयन गरेको नयाँ कार्यसमितिका पदाधिकारी र दूतावासबीच परिचयात्मक तथा समसामयिक विषयमा छलफल गरिएको थियो ।

भेटमा राजदूत भारद्वाजलाई संघले व्यवसायीहरूको लागि श्रम स्वीकृति लिनुपर्ने प्रावधान हटाउन माग गरेका छन्। उनीहरूले करोडौँको लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूलाई नेपाल सरकारले व्यवसायीको पहिचान नदिँदा आफूहरूले दुख पाएको गुनासो गरे । सरकारले व्यवसायी भनेर पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृति गर्नुपर्ने भएको भन्दै उनीहरूले यस्तो व्यवस्था तुरुन्त हटाउन दूतावास मार्फत सरकारको ध्यानाकर्षण गराए हुन् ।

भेटमा संघले राजदूतावासमा दुई वर्ष पहिले नै सूचिकृत गरिएको संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०–२४ का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै राजदूत डा भारद्वाजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । उनले समग्र नेपाल र नेपाली व्यवसायीहरूले सधैं मर्यादित, विश्वसनीय र उदाहरणीय काम गर्नेमा आफू विश्वस्त रहेको भन्दै यस कार्यकालमा केही दीर्घकालीन योजना ल्याएर काम गर्न सुझाव दिएका थिए । त्यस्तै उनले संघका जायज माग सम्बोधन गर्न दूतावासले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

संघको भर्खरै सम्पन्न अधिवेशनले महेन्द्र चौलागाइँको अध्यक्षतामा ४ वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो । संघको कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्य तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचारप्रसार विभागलाई समेतलाई पूर्णता दिएसँगै यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *