मेगा बैंकले दोहा बैंकबाट २ अर्ब ऋण लिने
काठमाडौं । मेगा बैंकले दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यवसायिक ऋण लिने भएको छ। बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंया) भित्र्याउन लागेको हो।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आईतबार यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।
नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्न बैंकले बताएको छ ।
मेगा बैंकले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत सेवा दिइरहेको छ ।
Facebook Comment