१२ खेल बाँकी छँदै लिभरपुल अर्को सिजनको च्यापियन्स लिगमा छनोट

डिसी नेपाल
६ फागुन २०७६ १३:१३

काठमाडौं। युरोपियन च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ । घरेलु लिग प्रिमियर लिगमा १२ खेल खेल्न बाँकी नै रहेको र यस सिजनको च्याम्पियन्स लिगका नकआउट चरणका खेल समेत ुरु नहुँदै लिभरपुलले अर्को सिजनका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको हो ।

प्रिमियर लिगका शीर्ष ४ टोलीले च्याम्पियन्स लिग खेल्न पाउँछन् । लिभरपुल अहिले ७६ अंकसहित प्रिमियर लिगको शीर्षमा छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५१ अंक छ र लिभरपुलले सिटीसँग २५ अंकको अग्रता बनाइसकेको छ । अर्कोतर्फ सिटीले लिभरपुललाई उछिनेकै अवस्थामा पनि लिभरपुललाई फरक पर्ने छैन किनकि सिटी अर्को सिजन प्रिमियर लिग खेल्न पाउने छैन । उसलाई युरोपेली फुटबल संघले २ सिजनका लागि प्रतिबन्ध लगाएको छ ।

गएराती भएको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडसँग हारेपछि त झन् लिभरपुल शीर्ष ५ मा पर्ने निश्चित भएको हो । किनकि अहिलेको अवस्थामा लिभरपुललाई उछिन्न सक्ने सम्भावना भएका तीन क्लव मात्र छन् । म्यान्चेस्टर सिटीको ५१, लिसेस्टर सिटीको ५० र चेल्सीको ४१ अंक छ । सबैले १२ खेल खेल्न बाँकी रहेकोले सबै खेल जितेको अवस्थामा ४१ अंक भएको चेल्सीले पनि ७७ अंक बनाउन सक्छ । ४० अंकको टोटनह्यामले पनि सबै खेल जितेको अवस्थामा लिभरपुलसँग बराबरी गर्न सक्छ ।

तर, चेल्सी र टोटनह्यामले एक आपसमा खेल्न बाँकी नै छ । यही खेलका कारण यी दुईमध्ये कुनै एक वा दुवै लिभरपुललाई जित्न नसक्ने स्थितिमा पुग्नेछन् । यो खेलमा हारजित भएमा हार्ने क्लवले लिभरपुललाई उछिन्न सक्ने छैन भने बराबरी भएमा दुवै क्लव लिभरपुललाई उछिन्न नसक्ने अवस्थामा पुग्नेछन् । यस्तोमा लिभरपुललाई बाँकी १२ वटै खेल हारेको अवस्थामा पनि च्याम्पियन्स लिगमा पुग्न कसैले रोक्न सक्ने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *