दुबईमा स्मरणशक्ति गुमाएकी यामकुमारीका श्रीमान नेपालमा सम्पर्कमा आए
काठमाण्डौँ । दुबईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी यामकुमारीका श्रीमान लालबहादुर थापा सम्पर्कमा आएका छन् । यामकुमारीको घर नगरपालिका फिनाम–८ गोरखा हो । पाँच वर्षअघि घरेलु काममा दुबई गएकी र गएको कात्तिकदेखि सम्पर्कविहिन भएकी श्रीमतीको खबर समाचारमा देखेर थाहा पाएको यामकुमारीका श्रीमान् लालबहादुर थापाले डिसी नेपालसँग फोनमा बताएका छन ।
‘२०७१ सालमा घरको काम गर्न भन्दै दुबई गएकी थिई । आउने दशैमा घरमा आउँछु भन्थी । तर, गएको कात्तिकदेखि एक्कासी सम्पर्कविहिन भएकी थिई,’ लालबहादुरले भने ‘बिरामी भएको छ भनेर एकपटक कसले हो फोन गरेको थियो, त्यसपछि उसले फोन पनि गरेन, यताबाट लगाउँदा पनि लागेन, हिजो बेलुका पो फेसबुकतिर कताकता छोरीले बिरामी परेर अलपत्र परेको भन्ने समाचार देखेर मलाई फोन गरेको थियो । ’
श्रीमती यामकुमारी युएईमा बिरामी परेको खबर सुन्नसाथ उनी मंगलबार बिहानै गोरखाबाट काठमाडौं आएर उद्धारका लागि परराष्ट्र मन्त्रलायको कन्सुलर सेवा विभागमा निवदेन दिएका छन् । ‘श्रीमती हो धेरै माया लाग्छ । विदेशमा बिरामी परेको छ भन्ने खवर सुन्दा निकै दुख लाग्यो । बिहानै गाडी चढेर काठमाडौं आएर पराष्ट्रमा उद्धार गर्न निवेदन दिएको छु । २ दिनपछि फेरि बोलाउनु भएको छ’ उनले भने ।
लालबहादुरका अनुसार उनका तीन छोरा र एक छोरी छन् । जसमध्ये दुई छोरा र एक छोरीका्र विवाह भैसकेको छ । उनी हाल घरमा एक्लै बस्छन् । उनले श्रीमतीको उद्धारका लागि युएईमा रहेका नेपाली समुदायलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
सोमबार गल्फ न्युजले यामकुमारीको बारेमा समाचार प्रकाशित गरेको थियो । गल्फ न्युजको समाचार उद्धृत गर्दै सोमबार दिउँसो यामकुमारीको अवस्थाबारेमा डिसी नेपालले समाचार प्रकाशित गरेको थियो ।
सबैथोक बिर्सिएकी यामकुमारीका आफन्त वा साथी खोज्नका लागि देशव्यापी रुपमा अभियान नै संचालन गरिएको थियो । ४६ वर्षकी याम कुमारी थापा अरबी भाषा राम्रोसँग बोल्न सक्छिन् । अक्टोबर २०१९ देखि सोमबारसम्म उनी दुबइको एक अस्पतालमा थिइन् जहाँ उनको मस्तिस्कको अपरेशन पनि भएको थियो तर उनले केही सम्झिन सकिरहेकी छैनन् ।
उनका रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन नसकिएको सामाजिक कार्यकर्ता लैला अबु बाकरलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको थियो । विगत ४ महिनादेखि लैलाले थापाका आफन्त, रोजगारदाता वा साथी भेट्टाउने प्रयास गरिरहेकी थिइन् ताकि उनी नेपालमा कहाँकी हुन् भन्ने पत्ता लगाउन सकियोस् र उनलाई स्वदेश फर्काउन सकियोस् । गल्फ न्यूजसँग कुरा गर्दै अबु बाकरले बताए अनुसार थापालाई अक्टोबर महिनाको तेस्रो साता अचेत अवस्थामा एम्बुलेन्मा दुबइ अस्पताल ल्याइएको थियो । सोमबार अस्पतालले डिस्चार्ज गरेपछि यामकुमारीलाई लैलाले आफूसँगै लगेकी छिन् ।
Facebook Comment