प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन, धमाधम हुँदैछ तयारी

डिसी नेपाल
६ फागुन २०७६ ६:३६

काठमाडौँ । नेपाली कांग्रेस निकटका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ९ औँ राष्ट्रिय महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा आयोजना हुँदैछ।

करिब १६ सय पार्षदहरुले भाग लिने उक्त महाधिवेशनको धमाधम तयारी भइरहेको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उट्घाटन गर्ने उक्त महाधिवेशनका लागि अहिले प्रदेश र केन्द्रका पार्षदहरुको सूची तयार गरिदैछ।
महासचिव सिवाकोटीका अनुसार फागुन महिनाभित्र देशभरका पार्षदहरुको नामावली अध्यावधि गरिने छ।

महासचिव सिवाकोटी

अघिल्लो पटक भन्दा यस पटक युनियनमा पार्षदहरूको संख्या बढी छ। महासचिव सिवाकोटीले भने, यसअघि १३ सय बढी पार्षद सहभागी भएका थिए। यस पटक सूची तयार गर्ने क्रममा पाषर्दको संख्या १५/१६ नाघ्ने अनुमान गरिएको छ ।

अहिले युनियनका ८८ वटा शाखा छन् । विदेशमा युएई, युके र पोर्चुगलमा युनियनको शाखा छ । विदेशी पाहुनाहरूलाई बोलाउन निमन्त्रणा पठाउने काम पनि भइरहेको सिवाकोटीले जानकारी दिए।

उनका अनुसार सुर्खेत, दैलेख, नुवाकोट र काभ्रे जिल्लामा अधिवेशनलाई लिएर केही तनाब भएपनि छिटोभन्दा छिटो विवाद समाधान गर्ने प्रयास भइरहेको छ।

नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा युनियनको महाधिवेशन गर्ने तयारी भएको छ । भाग लिन गएका पार्षदहरूलाई राख्नका लागि बाँकेका होटेल व्यवसायी संघसँग कुराकानी भइरहेको उनले बताए।

उनले भने, अहिले महाधिवेशका लागि स्थान तथा मञ्च व्यवस्थानको काम भइरहेको छ। विभिन्न संस्थासँग नियमित बैठकहरु सुरु भइसकेका छन्। केही दिनअघि मात्रै नेपालगञ्जमा महाअधिवेशन तयारीका लागि एउटा संगठन पनि गठन भएको छ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, स्थानीय आयोजक समितिका संयोजक प्रेम केसीलगायतको टिम नेपालगञ्जमै पुगेर विभिन्न महाधिवेशको तयारीमा जुटेको छ।

उनका अनुसार अध्यक्ष सिग्देल काठमाडौँ आउनेवित्तिकै युनियनको सचिवालयको बैठक बसेर महाधिवेशनको तयारीका लागि विभिन्न समिति, उपसमितिहरू गठन गरिने छ।

यो महाधिवेशन अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था आइएफजेकै मोडलमा गर्ने तयारी भएको सिवाकोटीले बताए । यस पटक युनियनले उद्घाटन सत्र अगाडि दुईवटा सत्र सञ्चालन गर्नेछ।

उद्घाटन गर्नु अघि बिहान खाजा खाएर साढे एक घण्टा संगठनका विषयमा छलफल हुनेछ। त्यसपछि साढे एक घण्टा नेपाली प्रेसको समस्याका विषयमा कार्यशाला गर्ने तयारी भएको छ। सिवाकोटीका अनुसार झण्डै चार घण्टाभित्र दुई वटा सेसन सम्पन्न भएपछि उद्घाटन गरेर महाविधेशनको सुरुवात हुनेछ।

उद्घाटन सत्रपछि बन्द सत्र र नयाँ नेतृत्वका लागि निर्वाचन सुरु हुनेछ। महासचिव सिवाकोटीका अनुसार महाधिवेशनमा करीब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यसका लागि झण्डै दश लाख सदस्यता शुल्कबाट संकलन हुनेछ भने बाँकी पैसा व्यक्तिगत रुपमा भार नपर्ने गरी शुभेच्छुक संस्था र व्यक्तिहरूबाट सहायतका रुपमा लिइनेछ।

यस पटक युनियनले चन्दा वा आर्थिक सहयोग मागेर अरुलाई दुख नदिने पक्षमा रहेको सिवाकोटी बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *