कुवेतमा एकै दिन २ नेपालीले गुमाए ज्यान
कुवेत । रोजगारीका लागि कुवेत आएका २ जना नेपालीको निधन भएको छ । रसुवाका धनकृष्ण ग्याबा तामाङ र झापा घर भइ हाल पोखरा बस्दै आएका सुरेश बहादुर खत्रीले एकै दिन मंगलबार ज्यान गुमाएका हुन् ।
धनकृष्णको मंगलबार बेलुका अकस्मात् ज्यान गएको हो । करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा कार्यरत थिए । उनको मंगलबार बेलुका ८.१२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अचानक मृत्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन । ‘हिजो बेलुका ८ बजे र १२ मिनेट जाँदा अचानक मृत्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढल्नु भएको हो ।’ उनले भने ।
उनको मृत्युको आधिकारिक कारण नखुले पनि हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ ।
त्यस्तै मंगलबार नै कास्कीका सुरेश बहादुर खत्रीको उपचारको क्रममा ज्यान गएको हो । अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी हुन्। उनका परिवार विगत लामो समयदेखि पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आइरहेका छन्।
गएको ६ डिसेम्बरमा अचानक बेहोस भएपछि उनलाई उपचारको लागि स्थानीय फार्वनिर्या अस्पताल लगिएको थियो । उनको अचेत अवस्थामै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । उपचारमा संग्लन डाक्टरले बताए अनुसार उनलाई ब्रेन ह्याम्रेज भएको थियो। खत्री झन्डै २० वर्षदेखि कुवेतमा काम गरिरहेको बुझिएको छ।
गएको बुधवार मात्रै कुवेतमा ६ जना नेपाली युवाले ज्यान गुमाएका थिए । चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू निर्माणस्थलमा दुर्घटनामा परेका थिए । दुर्घटनामा सिराहाका गंगाराम चौधरी, पाल्पाका एकबहादुर गाहा,, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरको ज्यान गएको थियो ।
Facebook Comment