बजेट खर्च गर्न नसकेपछि पूर्व अर्थमन्त्रीहरुको निशानामा डा. खतिवडा
काठमाडौ। सरकार भित्र र बाहिरबाट समेत आलोचना खेप्न थालेका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीप्रति दुई पूर्व अर्थमन्त्रीले समेत असहमति जनाएका छन्।
अर्थ समितिमा बुधबार बोल्दै पूर्व अर्थमन्त्रीद्धय डा. बाबुराम भट्टराई र सुरेन्द्र पाण्डेले अर्थमन्त्रीको कार्यशैली फरक हुन नसकेको भन्दै आउट अफ बक्स गएर सोच्न सुझाव दिए।
सरकारले चालु आर्थिक वर्षको ६ महिना वितिसक्दा बजेटको २७ प्रतिशत मात्र खर्च गरेको छ। जसमा चालु बजेटको ३२ प्रतिशत र पुँजीगतको १५ प्रतिशत मात्र खर्च गरेको छ।
बजेट खर्च गर्न नसकिने भएपछि अर्थमन्त्री खतिवडाले चालु आव अर्धवार्षिक समिक्षामार्फत बजेट लक्ष्य १० प्रतिशत घटाएर १३ अर्वमा झारिसकेका छन्। बजेट लक्ष्य घटाएसँगै अर्थमन्त्रीको क्षमतामा प्रश्न उठिरहेको छ।
यसैबारेमा अर्थसमितिमा पुँजीगत खर्च किन हुन सकेन भन्ने विषयमा छलफल भएको थियो।
बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री भट्टराईले दुईतिहाइ सहितको इतिहासकै शक्तिशाली सरकारले पनि बजेट खर्च गर्न नसक्न लज्जास्पद भएको टिप्पणी गरे।
‘विकास खर्च गर्न सकिएन भनेर प्रत्येक वर्ष भन्छौं, यसको पछाडिका कारण खोजौं, कहाँनेर समस्या छ त्यसलाई समाधान गरौं।’
अर्थमन्त्रीले आफूले गल्ती कहाँनेर गरिरहेको छु भन्ने जान्दाजान्दै पनि सुध्रिन नखोजेको आरोप समेत उनले लगाए।
भट्टराईले कतिपय आयोजनाहरु सम्बन्धित क्षेत्रका सांसदहरुले समेत जानकारी नपाएइकनै बजेट परेको भन्दै आफ्नो क्षेत्रमा गएको ६ वटा बाटोको आयोजनामध्ये पाँचवटा आयोजना सो क्षेत्रका सांसदलाईसमेत जानकारी नभएको बताए।
समितिको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एक चौथाई बजेट पनि खर्च गर्न नसक्नु लज्जास्पद भएको भन्दै अब योजना आयोगले पूँजिगत खर्च बढाउनका लागि आउट अफ द बक्स गएर सोच्न अर्थमन्त्रीलाई सुझाव दिए।
‘अर्थमन्त्रीले मन्त्रालय सम्हालदा देशको अर्थततन्त्र डुब्नै लागेको जसरी श्वेतपत्र प्रस्तुत गरेका थिए। उनी मन्त्री भएको दुईवर्ष वितिसक्दा पनि गैरबजेटरी खर्च उस्तै हुनुलाई कसरी हेर्ने?’ अर्थमन्त्री खतिवडाप्रति कटाक्ष गर्दै पाण्डेले भने।
सरकारले राम्रो काम गरेको भन्ने प्रचार गरे पनि आम जनताले त्यसको अनुभुति गर्न नसकेको उनले बताए। सरकारले चालु आवको अर्धवार्षिक समीक्षा गर्दा ४ प्रतिशतमात्रै आर्थिक वृद्धिदर देखिएको तथ्यांक लुकाएको पाण्डेले उल्लेख गरे।
Facebook Comment