ज्ञानेन्द्रमाथि प्रधानमन्त्री ओलीको व्यंग्य, अर्ति उपदेश के दिन खोजेको कुन्नि!
काठमाडौं। सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सञ्चारमाध्यमहरुमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन शुरु भएको बताएका छन्।
निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चारध्यमहरुमा छ्यापछ्याप्ती आइरहेको बताए।
जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र तिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरुमा छापिने गरेको उनको आरोप छ।
‘जनताको अभिमतबाट होइन्, जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनै पिच्छे अखवारहरुमा छापिएको छापिए। अस्तिका दिन मैले हेर्या थेँ तीनदिन अगाडि जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुशियाली मनाइराख्या। अस् अस्थिरता ल्याउन पाइन्छ भनेर खुशियाली मनाइराख्या। अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुशियाली मनाइराख्या। जनतमतको कुरा होइन जालझेलको, तिक्डमको बाटो हिँड्न पाइन्छ भनेर खुशियाली मनाइराख्या’, ओलीले भने, ‘लोकतन्त्र जालझेल, तिक्डमको प्रणाली होइन। लोकतन्त्र जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो। जनताको अभिमत स्वच्छ ढंगले प्रकट हुने र त्यस अभिमतलाई अस्वीकार गर्ने लोकतान्त्रिक पद्धति हुँदैन। जनताको अभिमत स्वीकार गर्नुपर्छ अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ।’
प्रधानमन्त्री ओलीले अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन्। केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अोलीले व्यंग्य गरे। उनले भने, ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ। भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्दर भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगततिर हेर भन्या सुनिन्छ। यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो।’
पूर्वजहरुको गौरबलाई सँधै सम्मान गर्ने उल्लेख गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताए। प्रधानमन्त्री ओलीले विगतका नकारात्मक कुराहरु पनि आफूले नविर्षेको बताए।
दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्लेख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारर्लाइ सुदृढ र विस्तृत गर्दै ति अधिकारहरुको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताए। देशमा सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल सुःखी नेपाली बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडि बढाउने बताए। आयोगको कार्यक्रममा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्नि प्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष लगायतको सहभागिता रहेको थियो।
Facebook Comment