पोखरा स्पोर्टस् अवार्डबाट रु छ लाख ११ हजार बचत

डिसी नेपाल
७ फागुन २०७६ २०:२६

कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको चौथो संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’बाट रु छ लाख ११ हजार ७५५ बचत भएको छ । पोखरामा गत जेठ २४ गते सम्पन्न अवार्डबाट रु १२ लाख ३१ हजार ७५५ आम्दानी भएको तथा रु छ लाख २० हजार विभिन्न शीर्षकमा खर्च भई सो रकम बचत भएको आज आयोजित साधारण सभामा आय व्यय सार्वजनिक गरियो ।

बचत रकम खेल पत्रकारको दक्षता तथा क्षमता विकास लगायतमा खर्च गरिने मञ्चका अध्यक्ष एकराज गिरीले बताए। अवार्ड सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख, पोखरा महानगरले रु एक लाख ४७ हजार ७५० तथा अन्य विभिन्न सार्वजनिक तथा निजी सङ्घ संस्थाले सहयोग उपलब्ध गराएका थिए ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुुनमगरले खेल पत्रकारको क्षमता विकासलगायतका कार्यक्रमका लागि सरकारले सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए । विधागत पत्रकारिताको विकासले मात्र समग्र पत्रकारिताको विकास र समुन्नतिमा सघाउने भनाइ उनको थियो । मन्त्री पुनले खेलकूदको जग विद्यालयलाई बनाउने नीति अनुसार ‘एक विद्यालय एक खेल मैदान’को योजना सरकारले अघि सारेको स्पष्ट पारे ।

“खेलकूदको आधारभूमि विद्यालय हुन्, त्यसैले विद्यालयमा खेलकूदको भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ, सरकार सोही अनुसार अघि बढेको छ”, मन्त्री पुनले भने । मञ्चले पाचौँ संस्करणको स्पोटर्स अवार्ड आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *