पक्की पुल हेर्दै झोलुङ्गेबाट तर्दै
मङ्गलबारे। झोलुङ्गे पुलबाटै मोटरसाइकल तार्दा आउने खट, खट आवाजले यहाँका बासिन्दा र यात्रु वाक्क भएका छन् । उनीहरुले यो झण्झट झेलेको धेरै भयो । वरिपरि पक्की पुल बन्दैछन् तर वर्षौंदेखि अवस्था जस्ताको त्यस्तै छ । यता यात्रुलाई भने झोलुङ्गे पुलबाटै मोटरसाइकल तार्ने समस्याले छाडेको छैन ।
माइजोगमाई इलामका हरि पाख्रेलले झोलुङ्गे पुलमार्फत मोटरसाइकल तार्दै भन्नुभयो, “त्यहीँ छ नि पक्की पुल तर कहिल्यै बन्दैन के गर्नु ?” नजिकै निर्माणाधीन पक्की पुलको काम थालिएको वर्षौं भयो तर स्थानीयले झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने बाध्यता छ । अझ मोटरसाइकल पनि यसैबाट तार्नुपर्दा झनै समस्या हुने गरेको छ । समयमा पुल नबन्दा पुल पारीका बासिन्दाले आफूलाई दुर्गम क्षेत्रको ठान्ने गरेको पोख्रेलको भनाइ छ ।
वर्षौंदेखि दुःख र मेहनतका साथ सवारी सञ्चालन गरिरहेका एक चालकले वर्षायाममा भोग्नुपरेको समस्या स्मरण गर्दै भने, “आजकल त के समस्या हुन्छ जस्तो छ र पछि वर्षायाममा पो रुवाउँछ त यो खोलाले ।” सडकको अवस्था त राम्रै छ तर पुल नहुँदा सास्ती भएको स्थानीयको गुनासो छ ।
हिउँदमा त सवारी साधन खोलाबाट नै आवतजावत हुन्छन् तर वर्षायाममा सवारी वारिका वारि र पारीका पारी नै हुन्छन् । यो खोलामा निर्माणाधीन पुल यस क्षेत्रका नागरिकको एक प्रतिनिधिमूलक समस्या हो । जिल्लाका अन्य आधा दर्जनभन्दा बढी स्थानमा बन्दै गरेका भनिएका पुलको अवस्था पनि उस्तै छ ।
विशेषगरी सन्दकपुर, इलाम सडकको माइमझुवामा पर्ने गिताङ र रातेखोलामा निर्माण थालिएको धेरै समय भयो तर पुल अझै तयार भएको छैन । इलाममा निर्माणाधीन आधा दर्जन पक्की पुल निर्माणको म्याद भने सकिइसक्यो । सडक डिभिजन कार्यालयमार्फत विभिन्न खोलामा निर्माणाधीन पुल समयमा निर्माण हुन नसकेका हुन् । समयमा निर्माण सम्पन्न नभएपछि पक्की पुलको म्याद थप गर्नुपर्ने अवस्था आइरहेको छ ।
जिल्लाका विभिन्न खोलामा पक्की पुल निर्माण हुने क्रमले यातायातका साधनका लागि सहज हुँदै गएको भए पनि समयमा काम पूरा नहुँदा भने वर्षौंदेखि नागरिकले दुःख भोग्नुपरेको छ । पुल कहिले बनिसक्ला भन्ने पर्खाईमा रहेका स्थानीय निराश बन्न थालेका छन् । तर सरकारले पछिल्लो समय एक वर्षमा निर्माण पूरा गर्न समय थप गरेपछि भने पछिल्लो समय काम अलपत्र छाडेर सम्पर्कविहीन भएका ठेकेदार भने अहिले सडक डिभिजन कार्यालयको सम्पर्कमा आएर सहकार्य थालेको बताएका छन् ।
लामो सयमसम्म काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने सूचना कार्यालयले गरेपछि अधिकांश ठेकेदार सम्पर्कमा आएर काम अघि बढाउने तयारीमा रहेको उक्त कार्यालयका प्रवक्ता मिलन श्रेष्ठले बताए। उनले अझै पनि थपिएको समयमा काम पूरा गर्ने सुनिश्चितता गरेर मात्र म्याद थप्ने गरेको बताए।
नाम चलेका र ठूला कम्पनीले नै जिम्मा लिएका कतिपय पुलको काम समयमा हुन नसकेको हो । सरकारले अवसरसँगै एक वर्षमा अधुरा काम सक्ने बाध्यकारी व्यवस्था गरेकाले अधिकांश पुलको काम सकिने अवस्था आएको कार्यालयको भनाइ छ । सडक डिभिजनमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा गरी राजमार्ग क्षेत्रमा छ वटा र स्थानीय सडकमा १० वटा पुलको काम अघि बढेको छ ।
मेची राजमार्ग कावेलीमा पुल निर्माणको काम भइरहेको छ । त्यस्तै दमक चिसापानी रवि सडकअन्तर्गत वागमारा र घर्ती दोभानमा पुल निर्माणाधीन छन् । त्यस्तै इलाम सन्दकपुर सडकको गिताङ र रातेखोलामा पुल निर्माण भइरहेको छ । फिक्कलबाट पशुपतिनगर हुँदै अन्तु जाने सडकको सिद्धिखोलामा पनि निर्माणको काम अघि बढेको छ ।
सन्दकपुर सडकको माइमझुवामा पर्ने गिताङ र रातेखोलामा निर्माण थालिए पनि अधुरै छन् । गिताङ पुलको निर्माणको जिम्मा लिएको नागार्जुन कम्पनीले म्याद थपेर केही महिनाभित्र नै कामसक्ने प्रतिबद्धता जनाएको छ । शुरुमा जिल्लातिरका ठेकेदारमार्फत काम गराउँदा केही ढिलो भएको कम्पनीका इञ्जिनीयर सुलभ भट्टले बताउनुभयो । अहिले अधुरै रहेका योजनालाई पूरा गर्नेगरी केन्द्रबाट नै काम भइरहेको उहाँको भनाइ छ ।
यता रातेखोला पुलको निर्माण कार्य वर्षौंअघि शुरु भए पनि काम पूरा नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । दुईतर्फको जिप आधा मात्र उठाइएको र लामो समय काम बन्द हुँदा फलामे डन्डी पनि खियाले मक्किने अवस्थामा पुगेको छ । सम्बन्धित निकायले तत्काल गुणस्तरीय काम गराएर स्थानीयसँगै सन्दकपुर जाने पर्यटकलाई सहज बनाउनुपर्ने स्थानीय कमल गुरुङको भनाइ छ।
सडक डिभिजन कार्यालयले ठेकेदार सम्पर्कमा आएकाले चाँडै काम अघि बढ्ने जनाएको छ । लामो समयसम्म काममा ढिलाइ भएको राजदुवाली दानाबारी सडक खण्डको बुढी सुखानी र इलाम नयाँबजार सडक खण्डको माइखोला दुधाङ पुलको काम पनि वर्षौंदेखि अलपत्र छ । ढिलागरी ठेकेदार कम्पनी सम्पर्कमा आएर काम थालेकाले चाँडै पूरा हुने सडक डिभिजन कार्यालयका प्रवक्ता श्रेष्ठले बताए।
पुलको आधाभन्दा बढी काम सके पनि निर्माण नै अलपत्र पारेपछि उक्त सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ । इलामको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी तथा माङ्सेबुङ गाउँपालिकाका विभिन्न ठाउँबाट हाट बजार गर्न झापा, खुदुनाबारी, शनिश्चरे, विर्तामोड जस्ता शहरमा जाने मुख्य सडकमा पर्ने पुल तत्काल पूरा गर्नुपर्ने स्थानीयको माग छ ।
आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको ठेक्का लिएको यो पुलको काम चाँडै सक्नेगरी कम्पनीले काम थालेको कार्यालयले जनाएको छ । स्ल्याब हाले पनि पुलका अन्य निर्माण र एक्सेस रोड बनाउन बाँकी छ । वर्षौंअघि थालिएको पुल पूरा नहुँदा इलाम नयाँबजारको यात्रा सहज छैन । दुवैतर्फ ग्राभेल सडक भए पनि पुल नहुँदा वर्षात्को समयमा यातायातका साधन अवरुद्ध हुने अवस्था छ । हिउँदको समयमा खोलाबाट मुस्किलले सवारी साधन वारपार हुन्छन् । काठमाडौँकै नेशनल, नीलगिरि जेभीले लामो समयसम्म काम अलपत्र पारे पनि अहिले भने शुरु गरेकाले अब समयमै काम सक्ने उक्त कार्यालयका प्रवक्ता श्रेष्ठको अपेक्षा रहेको छ ।
पछिल्लो दशक जिल्लामा कैयौँ पक्की पुल निर्माण भएका छन् । जसका कारण यातायात सहज बन्दै पनि गएको छ । त्यस्तै आफ्नो कृषि उत्पादन बजार पुर्याउन र उपभोग्य सामग्री ढुवानी गर्न यसले सहज भएको छ । अझै पनि कतिपय स्थानमा पुलको आवश्यकता छ । वर्षौंदेखि समस्या झेल्दै आएका स्थानीयले आफ्ना समस्याको सुनुवाइ हुन नसकेको गुनासो गर्ने गरेका छन् ।
कतिपय स्थानमा पुल पक्की बने पनि सडकको अवस्था जीर्ण हुँदा समस्या छ भने कतै आवश्यक नरहेका ठाउँमा पनि पुल बनेका छन् । त्यसैले पहुँचका आधारमा भन्दा स्थानीय आवश्यकता हेरेर पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ ।
यता निर्माण व्यवसायीले पनि समस्याका कारण यस्तो भएको बताउने गरेका छन् । गएको असारमा सन्दकपुर गाउँपालिकाको सुलुवुङ र जमुनाबीचको माइखोलामा ढलान गर्न ठिक्क पारिएको पुल भेलले बगायो । ठूलो ह्युमपाइपबाट पानी छिराएर सटिङ गरिएको भए पनि लगातारको वर्षा पछि आएको ठूलो बाढी यसले थेग्न सकेन । निर्माण कम्पनीले लाखौँ नोक्सानी व्यहोर्नु परेको बताए पनि अहिले पुलको निर्माण कार्य जारी छ ।
पुल निर्माण कार्य अन्य संरचना निर्माणभन्दा जटिल भएको निर्माण व्यवसायीको भनाइ छ । निर्माण व्यवसायी सङ्घ इलामका अध्यक्ष सुवास चिपालुले वर्षात्को चार÷पाँच महिना काम गर्न नै कठिन हुने गरेको बताए। फाउण्डेशनको काम गर्न कठिन हुने भएकाले पनि चाहेर पनि व्यवसायीले सोचेजस्तो छिटो काम अघि बढाउन नसक्ने उनको भनाइ छ । व्यवसायीको काम गर्ने शैली र तत्परताले पनि ढिलो छिटो हुने उनको भनाइ छ ।
स्थानीयस्तरमा दक्ष जनशक्ति नहुँदा पनि पुल निर्माणमा ढिलाइ हुने गरेको देखिएको छ । कतिपय ठेकेदारले लापर्वाही गर्ने गरेको पाइए पनि कतिपय स्थानमा भने दक्ष जनशक्तिको अभाव पनि एक कारण देखिएको छ । पुलमा काम गर्ने धेरैजसो कामदार भारतबाट ल्याउनुपर्ने र जिल्लामा धेरै ठाउँमा काम गर्नुपर्ने भएकाले आलोपालो गर्नुपर्ने निर्माण व्यवसायीको भनाइ छ । पुल निर्माण भएको क्षेत्र बस्तीविहीन हुने भएकाले कामदारलाई राख्न पनि समस्या हुने गरेको व्यवसायीको अर्को गुनासो छ ।
त्यस्तै पुल निर्माण गर्ने ठाउँमा ठूला सवारी साधन नचल्दा पनि निर्माण सामग्री पु¥याउन कठिन हुने गरेको छ । दर रेटको समस्या एवं समयमा भुक्तानी नपाउने जस्ता समस्याले पनि कतिपय स्थानमा काम ढिलाइ हुने गरेको पाइएको छ । त्यसैगरी एउटै व्यवसायीले धेरैतिरको काम लिने, आवश्यक निर्माण औजार नहुने जस्ता कारणले पनि पुल निर्माणमा ढिलाइ हुने गरेको देखिएको छ । यसबाहेक समय समयमा आउने प्राकृतिक प्रकोपको समस्या त छँदै नै छ । रासस
Facebook Comment