कोरोनाः चीनपछि सबैभन्दा धेरै दक्षिण कोरिया प्रभावित, सोमबार मात्रै २ सय ३१ जना नयाँ संक्रमित भेटिए

डिसी नेपाल
१२ फागुन २०७६ १४:३६

सौल । चीनको वुहान प्रान्तबाट फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९) ले दक्षिण कोरियामा आतंक मच्चाइरहेको छ । सोमबारमात्रै २ सय ३१ जना नयाँ संक्रमित भेटिएका छन् । कोरियामा ७ जनाको ज्यान लिएको छ । सोमबार बेलुका ४ बजे सम्म चेकजाँचका क्रममा ८ सय ३३ जना यो भाइरसबाट संक्रिमत भएको पुष्टि भएको छ। यो वृद्धिसँगै दक्षिण कोरियामा चीनबाहिर सर्वाधिक संक्रमित व्यक्तिको संख्या पुगेको छ।

त्यस्तै संक्रमित भएका २२जना सामान्य आवस्थमा फर्किएका छन् , भने कोरोनाको जस्तै लक्षण देखा परेका ११ हजार ६ सय ३१ जनाको विशेष निगरानीमा उपचार भइरहेको छ । यो रहस्यमयी भाइरसले दक्षिण कोरियालाई समेत ‘रेड अलर्ट’मा पुर्याएको छ। आइतबार ६ सय १ जनामा यसको संक्रमण देखिएको थियो । तर, सोमबार मात्रै २ सय ३१ जना नयाँ मानिसमा यसको संक्रमण देखिएको हाे ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि कोरियामा रहेका नेपालीहरू पनि त्रसित भएका छन्। प्रकोप फैलिएपछि सौलस्थित नेपाली दूतावासले नेपालीहरुलाई सतर्क रहन आवह्रान गर्दै आएको छ । कोरोनाले महामारीको रूप लिएपछि त्यहाँका कतिपय कम्पनी ठप्प भएका छन् । एनआरएनए कोरियाका सचिव मनोज गौतमले अहिलेसम्म कुनै पनि नेपाली यसको संक्रमणमा नपरेको बताए ।

अधिक मात्रामा भीडभाड हुने ठाउँ अहिले सुनसान छन्। सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न अपिल गरेको छ । शहरहरूमा दैनिक उपभोग्य खाद्यान्न, तरकारी लगायतका समानहरुको अभाव हुन थालेको छ। त्यस्तै मार्ट लगायतका मार्केट पनि बन्द गरिएको छ। बजारमा सर्जिकल मास्कको पनि अभाव छ।

सरकारी तथ्याङकअनुसार ४६ हजार भन्दा बढि नेपाली रोजगारी, अध्ययन तथा व्यवसायका लागि दक्षिण कोरियामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *