संसदमा आक्रामक हुने विपक्षी दलको तयारी

डिसी नेपाल
१२ फागुन २०७६ १८:४०

काठमडौं। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गएको बिहीबार सेक्यूरिटी प्रेस खरिदमा कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि रक्षात्मक बनेको सरकारलाई संसदमा थप घर्ने विपक्षीहरुले तयारी गरेका छन्।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पहलमा आइतबार तीन वटा विपक्षी दलहरुको बैठकमा मंगलबारको संसदमा चालिने कदमबारे छलफल गरिएको छ।

बैठकमा काँग्रेसलगायत समाजवादी पार्टी र राष्ट्रिय जना पार्टी (राजपा)का नेताहरु सहभागी थिए। बैठकले विपक्षीहरुले साझा धारणा बनाएर अगाडि जाने सहमति गरेको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘सरकारका यी नकरात्मक गतिविधिबारे संसदमा प्रभावकारी ढंगबाट भूमिका खेल्ने कुरा भएको छ। सबै विपक्षीहरुले संसदमा सक्रिय भूमिका खेल्ने पनि कुरा भएको छ। महत्वपूर्ण कुरा सरकारका अवाञ्छित गतिविभिबारे एकमत बनाएर जाने सहमति भएको छ।’

विपक्षी दलहरुले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा सार्वजनिक भएको कमिशन मागेको टेप प्रकरणलाई एकै स्वरमा सरकारमाथि दबाब दिने तयारी गरेका हुन्। अडियो टेप बाहिरिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओली, बाँस्कोटालगायत ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पनि दायर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद जन्म दिन मनाइएको, सूचना प्रविधि विधेयकलगायतका विषयमा विपक्षीहरु कडा रुपमा प्रस्तुत हुने तयारी गरेका हुन्। २०७४ मा भएको चुनावपछि गठन भएको संसदमा पहिलो पटक दलहरु सरकारविरुद्ध आक्रामक रुपमा संसदमा प्रस्तुत हुने तयारी गरेका हुन्।

मंगलबारको संसद बैठकमा सबै विपक्षी दलका नेताहरुले सरकारका गतिविधिबारे आ आफ्नो धारणा राख्ने तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *