उज्यालो नहुँदै फेरि भत्कियो प्रधानमन्त्री बन्ने वामदेवको महत्वाकांक्षा

डिसी नेपाल
१३ फागुन २०७६ १:४०

काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने हुटहुटी चल्दा नेकपाले एक अप्रीय निर्णय लियो – संविधान संशोधन। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका सञ्जय गौतमसँग पराजित भएपछि प्रतिनिधिसभामा पुग्नबाट रोकिएका गौतमले पार्टीमा प्रधानमन्त्री बन्ने लगातार इच्छा राखे । नेकपामा उनी स्वयंले संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न दबाव दिंदै आए र सोहीअनुरुप पार्टीका गुटहरुमा चलखेल पनि गरे । गएको शनिवार संविधान संशोधन कार्यदल बनाइएको समाचार सार्वजनिक पनि गरियो ।

तर, नेकपाको यो तयारी सार्वजनिक भएसँगै नेकपा भित्रैबाट, प्रमुख विपक्षी दल काँग्रेस र आम बुद्धिजिबीबाट भएको तिब्र आलोचनाले नेकपा संविधान संशोधनको तयारीबाट पछि हट्ने देखिएको छ।

गएको शनिबार नेकपाले संविधान संशोधनको गृहकार्य गर्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक तथा पूर्व सभामुख सुवाष नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको समाचार प्रकाशित भएको थियो।

तर, यसबारे आइतबार दिउँसो सबैतिरबाट आपत्ति प्रकट भएपछि नेकपाका नेताहरुले कार्यदल नै गठन नगरिएको भन्दै संविधान संशोधनको प्रसंगलाई खारेज गरेका छन्। तर सोमबार बिहान नेता नेपालको निजी निवास कोटेश्वरमा कार्यदलमा रहेका सदस्यहरुको बैठक भएको छ। तर, यसलाई कार्यदलको बैठक भनिएको छैन। बैठकमा नेता नेपाल, नेम्वाङ र देवकोटा सहभागी रहेको नेपाल निकट एक नेताले जानकारी दिए। यो बैठकमा संविधान संशोधनबारे कुनै छलफल नभएको ती नेताको दावी छ। बैठकमा नेता नेम्वाङ र देवकोटाले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नसकिने बताएको जनाइएको छ।

कार्यदलका सदस्य भनिएकाहरुले नै वामदेव गौतमको चाहाना अनुसार संविधान संशोधन हुन नसक्ने बताएपछि यो च्याप्टर क्लोज भएको छ। उपाध्यक्ष गौतमको जनताबाट नचुनिई प्रधानमन्त्री हुने चाहना फेरि भत्किएको छ । उनको महत्वाकांक्षा यसरी भत्किएको यो पहिलो पटक भने होइन।

प्रतिनिसभा सदस्यमा पराजित भएपछि गौतमले कुनै सांसदलाई राजीनामा गराएर उपनिर्वाचनमाफर्त प्रतिनिधिसभामा आउने प्रयास गरेका थिए। त्यो बेला उनी मुगु, डोल्पादेखि सल्यानसम्मका सांसदहरुलाई राजीनामा गराउने प्रयासमा लागेका थिए। तर, सफल हुन सकेनन्। उनले यहीबीचमा काँठमाडौं ७ बाट निर्वाचित सांसद रामविर मानन्धरलाई त मनाइसकेका मात्र थिएनन्, उनले राजीनामा नै पार्टीमा दिएका थिए। तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मानन्धरलाई राजीनामा फिर्ता लिन भनेपछि गौतमको सपना चकनाचुर भएको थियो।

यसपछि भने गौतमले केही समय आफूलाई प्रतिनिधिसभामा जाने कुनै रहर नभएको बताउने गरेका थिए। तर, गत वर्ष भएको एक दुःखद् हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री तथा काँस्की २ का सांसद रवीन्द्र अधिकारीको मृत्यु भएपछि रिक्त भएको स्थानमा गौतमको चर्चा भयो । तर, काँस्कीका स्थानीयले विरोध गर्दा र नेपाली काँग्रेसले निर्विरोध हुन नदिने भएपछि चुनाव हार्ने डरले उनी त्यता आकर्षित भएनन् ।

यहीबीचमा गएको माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाच हुने मिति नजिकिँदै जाँदा गौतमले राष्ट्रिय सभा हुँदै प्रधानमन्त्री हुने विचार व्यक्त गरे। त्यसबेला निकै आलोचना भएपछि गौतमले भनेका थिए, ‘वामदेव गौतम प्रधानमन्त्री किन बन्न नहुने?’ अहिले फेरि राष्ट्रिसभामा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद अर्थमन्त्री डा. खतिवडाको अवधी सकिँदैछ। यही फागुन २० गतेबाट उनी राष्ट्रिय सभाको सांसद रहने छैनन्। यही रिक्त हुन लागेको पदबाट राष्ट्रिय सभामा प्रवेश गरी प्रधानमन्त्री हुने दाउमा लागेका गौतमको सपनामा फेरि तुसारापात भएको छ ।

नेपालको संविधानले चुनाव हारेका व्यक्तिले मन्त्रीसमेत हुन नपाउने व्यवस्था गरे पनि नेता गौतममा भने जसरी पनि प्रधानमन्त्री बन्ने चर्को महत्वाकांक्षाले डेरा जमाएको छ। तर, उनी सफल हुन सकिरहेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *