अन्तरराष्ट्रिय प्रतियोगितामा विजेतालाई मासिक भत्ता

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन् ।
पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको मंगलबार अवलोकन गर्दै उनले अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक रु पाँच हजार तथा ओलम्पिकमा सहभागिलाई मासिक रु चार हजारका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको उल्लेख गरे ।
सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उनले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पारे ।
उनले भने, “खेलाडीलाई मासिक भत्ता दिने कार्य एउटा शुरुआत हो । उहाँहरुलाई हौसला प्रदान गर्नका लागि बढीभन्दा बढी सुविधा र सम्मानको योजना सरकार बनाएको छ । खेलाडीले खेलेरनै जीवन सुनिश्चित हुने अवस्था निर्माण हुँदैछ ।’’
सहाराले आफ्नो मेहनत र लगानी तथा देश विदेशबाट सहयोग जुटाएर फुटबल खेल विकास तथा सामाजिक क्षेत्रमा गरेको योगदानबाट गौरवको अनुभूति हुने उल्लेख गर्दै मन्त्री विश्वकर्माले एकेडेमी भवन तथा खेल मैदानका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए ।
एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन् । मन्त्री विश्वकर्माले आज नै पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको निरीक्षण गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएका थिए । साथै आगामी नवौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत उनले जानकारी लिए । पोखरा फुटबल रङ्गशालामा हालसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।
Facebook Comment