पाथीभरा म्याराथनको उपाधि कुलुङ र बुढाक्षेत्रीलाई

ताप्लेजुङ । सोलुखुम्बुका सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बनेका छन् । मंगलबार भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड पूरा गरी खुलातर्फको दौडमा कुलुङ विजेता बनेका हुन् ।
यस्तै पाँचथर फिदिमका प्रताप थाम्सोहाङ द्धितीय भएका छन् । उनले चार घण्टा १४ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पार गरे । रुकुमको मुसिकोटका दुर्गाराज बुढा तृतीय भए । उनले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।
यता महिलातर्फको हाफ म्याराथन दौडमा भने जुम्लाको पत्रासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्री विजेता बनेकी छन् । बुढाक्षेत्रीले ४४ किलोमिटरको दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गरिन् । आफ्नो प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबकी सरिता वासीको तुलनामा बुढाक्षेत्रीले १० मिनेट चाँडो दूरी पार गरेकी थिईन् । वासीले तीन घण्टा ४८ मिनेटमा दूरी पार गरेकी हुन् । यता धादिङकी रसिला तामाङ तृतिय भएकी छन् । चरा घण्टा ५९ सेकेण्डमा निर्धारित दूरी पार गरी तामाङ तृतिय भएकी हुन् ।
खुलातर्फका विजेताले एक लाख ५१ हजार, उपविजेताले १ लाख ११ र तृतीयले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फका विजेता, उपविजेता र तृतीयले क्रमस ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् । ताप्लेजुङमा शुक्रबारदेखि शुरु भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन दौड गराइएको हो । म्याराथन दौडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बिहान उद्घाटन गरेका थिए।
Facebook Comment