टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का

काठमाडौं। नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । मंगलबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले सम्भौता पत्रमा हस्ताक्षर गरेका छन ।
हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र अलराउन्डर क्रिकेटरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा उहाँले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहने बताउनु भएको थियो ।
समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताउनु भयो । उहाँले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर पारसले सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी हुनेछन ।
Facebook Comment