वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

डिसी नेपाल
१४ फागुन २०७६ २१:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरका छन् । बुधबार आयोजित एक कार्यक्रममा उनले सो घोषणा गरेका हुन्। ‘समृद्धिको आधार, राज्य निजी क्षेत्रको साझेदारी’ भन्ने मूल नाराका साथ आगामी चैतको २८ र २९ गते हुने महासंघको ५४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको दरिलो खम्बाका रुपमा रहेकोले यसले आर्थिक विकासमा ठूलो सहयोग पु¥याउने बताए । उनले आफू निर्वाचित भए व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने बताए।

मुलुकमा राजनीतिक स्थिरता रहेकाले निजी क्षेत्र सरकारसँग हातेमालो गरी मुलुकको समृद्धिका लागि तयार रहेको उपाध्यक्ष ढकालले बताए । “राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्न सक्यो, त्यति नै समृद्ध हुन्छ”, उनले भने, “राज्यले निजी क्षेत्रलाई साझेदारीका रुपमा हेर्नुपर्दछ, मुलुक राज्य र निजी क्षेत्रले बनाउने हो ।”

उनले मुलुकभित्रका उद्योग व्यवसायको लगानी सुनिश्चित गरी बाहिरी मुलुकबाट लगानी भित्र्याउनुपर्नेमा जोड दिए। उपाध्यक्ष ढकालले महासङ्घलाई ठूला व्यवसायीमा मात्र नभएर साना, मझौला व्यवसायीको समेत संस्था बनाउनुपर्ने बताए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ । अब हुने साधारणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । यसअघि वरिष्ठ उपाध्यक्षका लागि अर्का उपाध्यक्ष किशोरकुमार प्रधानले समेत उम्मेदवारी घोषणा सकेका छन्। ढकालको उम्मेदवारीमा महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल, सुरज वैद्यलगायतको सहभागिता थियो । ढकालको बैंकिङ, केबुलकार र पर्यटन क्षेत्रमा लगानी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *