मन्त्रिपरिषदमा चक्लेट र कुकुरको कथा सुनाएर मन्त्रीलाई सचेत रहन प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
१५ फागुन २०७६ ३:४८

काठमाडौं। यतिबेला सत्तारुढ दल नेकपा र सरकारको आलोचना चुलिँदो छ। तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिशन प्रकरण, प्रधानमन्त्रीको विवादास्पद जन्मोत्सव र नेकपाको आन्तरिक किचलोका कारण यतिबेला सत्तापक्षको चर्को आलोचना भइरहेको छ।

यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई सचेत रहन निर्देशन दिएका छन्। तर, यस्तो निर्देशन भने निकै घुमाउरो थियो।

गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले चक्लेट र कुकुरको कथा सुनाएर मन्त्रीहरुलाई सचेत रहन निर्देशन दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले विदेश भ्रमणबाट फर्केका दुईजना मन्त्रीहरु भौतिक योजनामन्त्री बसन्त नेम्वाङ र उद्योग वाणिज्यमन्त्री लेखराज भट्टले विदेशबाट ल्याएका चकलेटको प्रसंगसंग जोडेर कुरा सुरु गरे । यसअघि यो दिन मन्त्रिपरिषदको बैठकमा उपस्थित उमेरले सबैभन्दा कान्छा वन मन्त्री शक्ति बस्नेतलाई विदेशबाट फर्केका मन्त्रीले ल्याएको चकलेट बाँड्न लगाएका थिए।

सो क्रममा केही मन्त्रीहरुले चक्लेट खल्तीमा हालेको प्रधानन्त्री ओलीले देखेका थिए। यसरी मन्त्रीहरुले चक्लेट खल्तीमा राखेको देखेपछि प्रधानमन्त्री ओलीले एक कथा सुनाए । स्रोतका अनुसार ओलीले भनेका थिए, ‘एक पटक मैले यस्तै चक्लेट लिने मौका पाएको थिएँ। त्यो बेला मैले केही चक्लेट खल्तीमा हालेँ र गल्लीमा हिँडिरेको बेला मेरा पछाडि केही कुकुर आएको मैले चाल पाएँ। शुरुमा त मैले मतलव गरिन । तर, त्यहाँ त मानिसहरु पनि हाँस्न थाले। अनि मैले केही त पक्कै भएको छ भनेर आफ्नो पछाडि छामेँ। चक्लेटको रस चुहिरको रहेछ। कुरा के भने त्यो दिन मैले खल्तीमा हालेको चक्लेट गर्मीका कारण पग्लिएर चुहिएको रैछ। कुकुर त्यही चक्लेटको रस देखेर पछाडि लागेका रैछन्। म लज्जित भएँ।’

प्रधानमन्त्री ओलीले यो कथा सुनाएर मन्त्रीहरुलाई लोभ लालचमा नफस्न सचेत पार्दै केही पाइने भए जो पनि पछि लाग्ने कुरासमेत सम्झाएका थिए। आफूसंग स्रोत साधन हुंदा जस्ता मान्छे पनि पछि लाग्ने र सही निर्णय गर्न नसक्दा पछि लज्जित हुनुपर्ने अवस्था आउने उनको आसय रहेको एक मन्त्रीले बताए । सधै पछिल्लो राजनीतिक घटनाक्रमबारे लामो टिप्पणी गरेपछि प्रस्तावमाथि छलफल चलाउने प्रधानमन्त्रीले गएको सोमबार बसेको मन्त्रिपरिषदमा भने एमसीसी, बाँस्कोटा प्रकरण र आफ्नो जन्मोत्सवबारे कुनै टिप्पणी नगरेको स्रोतले बतायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *