च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित, रातो कार्ड पाउने खेलाडीमा रामोसको किर्तिमान

डिसी नेपाल
१५ फागुन २०७६ ८:३५

काठमाडौँ। च्याम्पियन्स लिगको राउण्ड अफ १६ को पहिलो लेगमा रियल मड्रिड पराजित भएको छ । गएराती भएको खेलमा रियल म्यान्चेस्टर सिटीसँग आफ्नै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ बिना कुनै गोल बराबरीमा रोकिएको खेलमा तीनवटै गोल दोस्रो हाफमा भएका थिए ।

सिटीका लागि गाब्रियल जिससले खेलको ७८ औ मिनेटमा र केभिन डि ब्रुनेले ८३औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । रियलका लागि यस अघि खेलको ६०औ मिनेटमा इस्कोले गोल गरेका थिए । रियल मड्रिडका सर्जियो रामोसले खेलको ८६औ मिनेटमा रातो कार्ड पाउँदा रियल १० खेलाडीमा सीमित भएको थियो । अब अन्तिम १६ को दोस्रो लिग मार्च १७ मा सिटीको घरेलु मैदानमा हुने छ ।

यो खेलमा रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाउने खेलाडीको किर्तिमान बनाएका छन् । रामोसले च्याम्पियन्स लिगमा धेरै रातो कार्ड पाउने रेकर्डमा आफ्नो नाम लेखाएका छन् । यस अघि च्याम्पियन्स लिगमा चार रातो कार्ड पाउने एजगर डेविडस र जलाटन इब्रहिमोविच हुन् । रामोसले चौथो रातो कार्ड पाउँदै दुवैको बराबरी गरेका छन् ।

अब रामोसले सिटीविरुद्ध उसकै घरेलु मैदानमा हुने रिटर्न लेग गुमाउने छन् । रामोस खेलाडीको रुपमा जति चर्चित छन् त्यो भन्दा बढी उनको फाउल हान्ने बानीका कारण पनि चर्चित छन् । उनको क्यारियरमा यो २६औ रेड कार्ड हो । रामोसले अहिलेसम्म ला लिगाका खेलमा २० पटक रातो कार्ड पाएका छन् भने च्याम्पियन्स लिगमा ४ र कोपा डेल रेका दुई खेलमा रातो कार्ड पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *