दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्यो, चीनमा संक्रमण र मृत्युदर घट्दो
काठमाडौँ । पछिल्ला केही दिनयता चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्न थालेको छ ।
लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण घटेसँगै तीन दिनदेखि ज्यान गुमाउनेको संख्या पनि घट्ना थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ।
बिहीबार बिहानसम्म चीनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ४४ पुगेको छ ।
बुधबारबार चीनमा २९ जनाको ज्यान गएको छ । यसअघि चीनमा दैनिक सरदर एक सय भन्दा बढीको ज्यान जाने गरेको थियो ।
बुधबार ४ सय ३३ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ७८ हजार ४ सय ९७ पुगेको छ।
केही दिनदेखि चीनमा कोरोनाको संक्रमण घट्दै गएपनि चीन बाहिर भने संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बुधबार बिहानसम्म चीन बाहिर मात्रै करिब २९ जनाको ज्यान गएको छ।
चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ। बुधबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा १२, इरानमा ५, इटलीमा ५, जापानमा ५, हङकङ्मा १ र फिलिपिन्समा १ जनाको ज्यान गएको छ।
चीनबाट फैलिएर कोरोना संक्रमणबाट दक्षिण कोरियामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । सोमबारसम्म कोरियामा १ हजार एक सय ४६ जना संक्रमित भएको पुष्टी भएको छ । कोरियामा संक्रमण बढेसँगै एक खालको आतंक नै सृजना भएको छ ।
यस्तै जापानमा पनि संक्रमितको संख्या निकै बढेको छ । जापानमा मंगलबार बिहानसम्म ८ सय ७० नाघेको स्वास्थ्य विभागले जनाएको छ।
यससँगै जापानमा १६ जना भारतीयलाई कोरोना संक्रमण देखिएको छ । उनीहरुसहित करिब एक सय भारतीय नागरिकलाई भारत सरकारले विमान चार्टर गरेर स्वदेश फर्काउने तयारी गरेको छ ।
Facebook Comment