नेकपा शीर्ष नेताहहरुद्वारा ‘विवाद नभएको’ सन्देश
काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका शीर्ष नेताहरुले विवाद नरहेको सन्देश दिएका छन्।
बिहीबार पार्टीको बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु मञ्चमा देखिएका छन्।
कार्यक्रममा शुरुमै बोलेका वरिष्ठ नेता नेपालले पार्टीमा देखिएको विवाद मिल्ने भन्दै कार्यकर्ताहरुलाई शान्त पार्न खोजेको एक सहभागीले बताए। उनले पार्टी भित्र यस्ता समस्या आउने र नेताहरु ती समस्या समाधान गर्न सक्षम रहेको बताएका थिए।
यस्तै पार्टी सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेताहरुबीच देखिएको विवाद समाधान हुनेमा आफू विश्वस्थ रहेको बताएका थिए।
बुधबार पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यका पदका लागि सरकारले सिफारिस गर्नुपर्ने निर्णय पार्टी सचिवालय बैठकले गरेको थियो। तर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सो निर्णय कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।
डिसी नेपालसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी सचिवालयको निर्णय कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको बताए। उनले डिसी नेपालसँग भने, ‘हिजो सचिवालयमा जे निर्णय भएको हो, त्यति हुन्छ। नयाँ कुनै कुरा छैन।’
Facebook Comment