सरकारले जनतालाई राणाकालको जस्तो व्यवहार गरेको छ : अध्यक्ष ढकाल

डिसी नेपाल
१५ फागुन २०७६ १६:४२

काठमाडौं । अनेरास्ववीयू (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले वर्तमान सरकारले जनताप्रति राणाकालको जस्तो व्यवहार गरेको बताएका छन् । रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जनताको स्वतन्त्रतामाथि सरकारले दमन गरेको आरोप लगाएका छन् ।

उनले जनयुद्व दिवसको अवसरमा सरकारले विद्यार्थी नेताहरुलाई झुठो मुद्दा लगाएर जेल हालेको भन्दै सरकारको उक्त कदमप्रति घोर आपत्ति जनाए ।

अध्यक्ष ढकालले भने, ‘हाम्रो संगठन बम र हातहतियार बोक्ने संगठन होईन, अनेरास्ववियू (क्रान्तिकारी) ले सदैव विद्यार्थी आन्दोलन र उनीहरुको हकहितको लागि काम गरिरहेको छ, हामी प्रगतिशिल दिशामा काम गरिरहेका छौं ।’

उनले प्रजातन्त्रमा सम्पूर्ण नागरिकले सरकारसामु आफ्ना कुरा राख्न पाउने अधिकार भएकोले यस्तो कुरामा पनि सरकारबाट दमन हुनु भनेको गलत भएको बताए ।

मुलुकको शिक्षा क्षेत्रलाई नयाँ प्रविधिसंग जोड्न जरुरी रहेको भन्दै ढकालले त्यसतर्फ कदम चाल्नको लागि सरकारको ध्यानाकषर्ण समेत गराए । ‘अनुचित ढंगको गतिविधि गरे हामीलाई समेत कारवाही गर्नुस्’–ढकालले भने,‘म सार्वजनिक रुपमै यो कुरा भन्न चाहन्छु, पहिलो कुरा सरकार जिम्मेवारढंगले प्रस्तुत भए हामी पनि त्यही ढंगले प्रस्तुत हुन्छौं ।’

उनले आफूहरुको संगठनले कसैसंग पनि चन्दा नउठाएको दाबी गरे । उनले थपे,‘हाम्रो संगठनले कसैसँगपनि पैसा उठाएको छैन् । यदि संगठनको नामको जसले पैसा उठाएको थाहा पाउनुहुन्छ, तिनीहरुलाई निर्धक्क ढंगले कारवाही गर्नुस् । हामी यो विषयमा सधैं दृढसंकल्पित छौं ।’

उनले हिरासतमा रहेका कार्यकर्तालाई चरम यातना दिईएको पनि गुनासो पोखे । उनले भने,‘हामीमाथि लगाईएका झुट्टा मुद्धा र सरकारको दमनको हाम्रो संगठन घोर भ्रत्सर्ना गर्दछ ।’

यसैगरी, अनेरास्ववीयू (क्रान्तिकारी)का कोषाअध्यक्ष नरेन्द्र विश्वकर्माले देशव्यापी रुपमा शिक्षालाई निःशुल्क बनाउनुपर्ने आफूहरुको उद्देश्य र माग रहेको बताए । उनले भने,‘निःशुल्क शिक्षाले सम्पूर्ण निम्न वर्ग शिक्षीत हुन्छ र यो सँगै मुलुकको विकासमा पनि मद्दत पुग्छ ।’

वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले भने,‘सरकार आफैं भ्रष्टाचारमा लिप्त छ । सरकारले भ्रष्टाचारको अन्त्य गराउनुपर्छ । सरकारले सम्पूर्ण यूवाको मर्म बुझेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने आजको आवश्यकत्ता हो । त्यसतर्फ सरकारले विशेष ध्यान दिन जरुरी छ ।’

उनले आफूहरुले विद्यार्थीको हकहित र जायज मुद्दा बोकेर आवाज उठाँउदा किन सरकारले दमन गरिरहेको छ ? भन्दै गम्भिर प्रश्न उठाए । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यर्थी यूनियनको निर्वाचनमासमेत आफ्नो संगठनले भाग लिने उनले जानकारी दिए ।

उनले भने,‘हामीले पनि स्ववियूको निर्वाचनमा भाग लिन पाउनुपर्छ, यतातिरपनि म सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।’ उनले आफ्ना संगठनका नेता तथा कार्यकर्ताहरुलाई बिनाकार जेलमा राखिएकोमा आपत्ति जनाउँदै तत्काल रिहाईको माग गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *