महिला टी–२० विश्वकपः न्युजिल्यान्डमाथि रोमाञ्चक जितसहित भारत एक खेल अगावै सेमिफाईनलमा

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी महिला टी–२० विश्वकपमा लगातार तीन खेलमा जित निकाल्दै भारत सेमिफाइनल प्रवेश गरेको छ ।
बिहिबार आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डलाई रोमान्चक बनेको खेलमा ३ रनले पराजित गरेपछि भारत समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल पुगेको हो ।
भारतले दिएको १ सय ३४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड निर्धारित २० ओभमा ६ विकेट गुमाएर १ सय २९ रनमा सिमित भएको थियो।
न्युजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक ३४ रनको योगदान गरिन । यस्तै केटी मार्टिनले २५ र मैडी ग्रीनले २४ रन बनाईन् । बलिङतर्फ भारतकी दिप्ती शर्मा , सिखा पाण्डे , राजेश्वरी , पुनम पाण्डे र राधा यादवले समान १–१ विकेट लिए।
त्यसअघि जक्सन ओभल मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
भारतका लागि ओपनर ब्याटर शैफाली वर्माले सर्वाधिक ४६ रन बनाईन् । यस्तै तानिया भाटियाले २३ र राधा यादवले १४ रनको योगदान गरेका थिए । बलिङतर्फ न्युजिल्यान्डका अमेलिया केर र रोजमरीले समान २–२ विकेट लिए।
यसअघि भारतले पहिलो खेलमा अष्ट्रेलियालाई १७ रन र दोस्रो खेलमा बंगलादेशलाई १८ रनले पराजित गरेको थियो । अब भारतले समूहको अन्तिम खेलमा श्रीलंकासँग खेल्न बाँकी रहेको छ ।
Facebook Comment