असारे विकास अन्त्य गरिने
बलेवा । असारे विकास अन्त्य गर्ने र सुशासन कायम गर्ने भन्दै बागलुङको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम तथा योजना सम्झौता गर्ने अन्तिम मिति तोकेको छ । उपभोक्ता समितिलाई आगामी फागुन २० गतेभित्रै योजनाको सम्झौता गर्न नगरपालिकाले औपचारिक आग्रह गरेको हो ।
समयमा योजनाको सम्झौता नभएका कारण काम समयमा नहुने र अन्तिम समयमा हुने कामले परिणाम नदिने भन्दै फागुन २० सम्मको समयावधि दिइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । “कार्यपालिकाको निर्णयअनुसार सूचना प्रकाशन गरेर उपभोक्तालाई जानकारी गराएका छौँ”, शर्माले भने, “हिउँदमै काम सकेर बर्खा लागेपछि नयाँ योजना बनाउने र समीक्षा गर्ने काममा लाग्छौँ ।”
जैमिनीमा हालसम्म ४० प्रतिशत योजनामा मात्रै सम्झौता भएका छन् । “बाँकी रहेका योजना सम्झौता गर्नका लागि वडा तहबाट नै जानकारी उपभोक्ताको घरघरमा पुगेको छ”, शर्माले भने, “समयमा सम्झौता नभए स्वीकृत कार्यक्रम पछि चल्ने छैनन् ।”
नगरपालिकाले योजनाको काम सकेर फरफारक गर्ने मितिसमेत तोकेको छ । समयमा फरफारक भएमा मात्रै अनियमितता हुन नपाउने भन्दै जेठ मसान्तसम्मको मिति तोकिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । गत वर्ष पनि बैशाखसम्म सम्झौता र जेठ मसान्तसम्म फरफारकको समय तोकिएको थियो । नब्बे प्रतिशत योजना समयमै सम्पन्न गरेको दाबी नगरले गरेको थियो । समयमा योजनाका काम सक्दा वर्षात् लागेपछि गुणस्तरहीन बन्ने पौडेलले बताए ।
Facebook Comment