हङकङको दोस्रो जित, एसिया कप छनोटमा पुग्ने सम्भावना बलियो

काठमाडौं । हङकङले एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । थाइल्याण्डको बैंककमा मंगलबार भएको खेलमा आयोजक थाइल्याण्डलाई ८ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जित निकालेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ७८ रनको लक्ष्य हङकङले ७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । हङकङका लागि निजाकट खानले ३६ रन जोड्दा किन्चित साहले अविजित १९ रन बनाए । जेम्स जोन्सले अविजित ११ रन बनाए ।
यसअघि जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर ७७ रन जोडेको थियो । उसका लागि जिउल हकले २३ रन जोड्दा डानिल जाकोब्सले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका किन्चित साह, अफ्ताब हुसेन र इशान खानले २–२ विकेट लिए ।
जितसँगै हङकङले २ खेलमा ४ अंक जोडेको छ । र, शीर्ष दुईमा रहदै एसिया कप छनोटको सम्भावना बलियो बनाएको छ । हङकङले पहिलो खेलमा नेपाललाई ४३ रनले हराएको थियो । थाइल्याण्डको यो लगातार तेस्रो हार हो ।
Facebook Comment