ओलम्पिक छनोटमा सनिलले हराए किर्गिस्तानका बक्सरलाई

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकको लागि जोर्डनमा जारी एसिया-ओसेनिया बक्सिङ छनोटमा नेपाली बक्सर सनिल शाहीले ऐतिहासिक सफलता हात पारेका छन् ।
जोर्डनको अम्मानमा मंगलबार ६३ केजी तौल समूहमा किर्गिस्तानका बक्सर काट्रेवक उलू अर्जेनलाई ४-१ ले पराजित गर्दै सनिलले ऐतिहासिक सफलता पाएका हुन् । किर्गिस्तानका खेलाडीविरुद्ध जित निकालेसँगै सनिल ओलम्पिक छनोटमा जित निकाल्ने पहिलो नेपाली बक्सर बनेका छन् । अहिलेसम्म नेपाली खेलाडीले ओलम्पिक छनोटमा जित निकाल्न सकेका थिएनन् ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण विजेता सनिलले अब ताजकिस्तानका बक्सर उनमोनोभ बाखोदुरसँग बिहिबार खेल्नेछन् । उनमोनोभ एसियाको शीर्ष वरीयताका खेलाडी हुन् । उनमोनोभलाई हराउन सके सनिलको ओलम्पिकमा छनोट हुने सम्भावना अत्यधिक रहनेछ । छनोट अन्तर्गत नै नेपालकी मिनु गुरुङले बुधबार कोरियाका खेलाडीसँग खेल्ने छिन् ।
Facebook Comment