कर्णालीमा कोरोनाबाट बच्न पुर्व तयारी, चार वटा नाकामा चेकजाँच

डिसी नेपाल
२१ फागुन २०७६ ९:२६

सुर्खेत । विश्वका धेरै देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) भित्रन नदिन कर्णालीमा विशेष तयारी थालिएको छ।

कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेकजाँच र स्वास्थ्य परिक्षण गरिने भएको हो । यस्तै सचेतनामुलक कार्यक्रम पनि संचालन गर्न लागिएको छ ।

कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चार वटा नाकामा हेल्थडेस्क नै स्थापना गर्न लागिएको हो ।

तिब्बतसँग सीमाना जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरु भित्रिने सुर्खेत विमानस्थलमा गरी चार स्थानमा चेकजाँच गरिनेछ । यसका लागि यी स्थानमा हेल्थडेस्क राख्ने तयारी प्रदेश सरकारले गरेको छ ।

यी नाकामा औषधीसहित खटिने टोलीले आवतजावत गर्ने नागरिकहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र शंकास्पद विरामीलाई स्वास्थ्य चेकजाँच पनि गर्नेछन्।

हेल्थ डेक्समा आवश्यक सामग्री तथा औषधिहरु तत्काल हिल्सा नाकामा पठाउने तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले जानकारी दिईन्।

‘अपुग हुनसक्ने थप सामग्री खरिद गर्ने तयारी गरेका छौं’ निर्देशक जोशीले भनिन्, ‘सुर्खेत विमानस्थलमा रहने हेल्थ डेस्कमा पनि नियमित रुपमा आवतजावत गर्ने मानिसहरुको चेकजाँच गरिनेछ।’ कपुरकोट र बबईमा राखिने डेस्कहरुबाट भने जनचेतनालाई फोकस गरिने गरिनेछ।

प्रदेश अस्पतालमा कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न दुई बेडसहितको विशेष कक्ष स्थापना गरिएको छ। एक साताअघि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेष वैठकबाट प्रदेशमा कोभिड–१९ भित्रिन नदिन तयारी थाल्ने निर्णय गरेको थियो।

मन्त्रालयको निर्णय अनुसार सबै क्षेत्रमा व्यवस्थापनको तयारी भईरहेको निर्देशक जोशीले बताईन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *