बैंकहरुको लगानी थोक तथा खुद्रा व्यवसायमा केन्द्रित

डिसी नेपाल
२१ फागुन २०७६ १७:१५

काठमाडौं। सरकारले उत्पादनमुलक क्षेत्रमा कर्जा परिचालनमा प्राथमिकता दिए पनि बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यवसायमा देखिएको छ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ३१ खर्व ६१ अर्व रुपैयाँ बराबरको कर्जा परिचालन गरेका छन्। उक्त कर्जाको एक चौथाई हिस्सा थोक तथा खुद्रा व्यापारमा देखिएको छ।

राष्ट्र बैंकका अनुसार पुससम्ममा थोक तथा खुद्रा व्यापारमा ६ खर्व ५७ अर्व रुपैयाँ ऋण प्रवाह भएको छ। यो बैंकहरुको कूल लगानीको २१ प्रतिशत हो। गत आवको तुलनामा यस क्षेत्रको कर्जा करिब १० प्रतिशतले बृद्धि भएको छ।

बैंकबाट ऋण लिएर व्यापार गर्ने प्रचलन बढेसँगै कर्जाको माग पनि बढेकाले बैंकहरुले यस क्षेत्रमा लगानी बढेको हो। छोटो अवधिको कर्जा र कम जोखिम भएकाले बैंकहरुले पनि यस क्षेत्रमा लगानी गर्न प्राथमिकता दिने गरेका छन्।

सरकारले प्राथमिकता दिएको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले ७ प्रतिशत मात्र लगानी गरेका छन्। जबकी यस क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

कृषि कर्जा बढाउनका लागि सरकारले व्याज अनुदान समेत दिदै आएको छ। तर यस क्षेत्रको लगानी समेत उलेख्य रुपमा बढ्न सकेको छैन।

थोकतथा खुद्रा बाहेक बैंकहरुको लगानी उत्पादनमुलक उद्योग, सेवा क्षेत्रका साथै उपभोग्य कर्जामा समेत लगानी उच्च रहँदै आएको छ।

बैंकहरु भने देशको अर्थतन्त्रको अवस्था अनुसार बैंकहरुले लगानी गरेको दावी गर्छन्। देशको अर्थतन्त्र आयातामा आधारित व्यापारमा निर्भर हुन थालेकाले यसमा बैंकहरुको लगानी बढि हुनु स्वभाविक भएको उनीहरुको तर्क छ।




प्रतिक्रिया