बीमा दावी भुक्तानी छिटो र सजिलो बनाइँदै
काठमाडौं। दावी भुक्तानीमा बीमा कम्पनीहरुले अनावश्यक झमेला गरेको गुनासो गरेसँगै बीमा समितिले कडाइ गरेको छ। समितिले बीमा दावी भुक्तानी मार्गदर्शन–२०७६ जारी गर्दै समय सीमा तोकेको हो।
मार्गदर्शन अनुसार अब जीवन बीमा कम्पनीहरूले १५ दिनभित्र र निर्जीवन बीमा कम्पनीहरुले ३६ दिनभित्र दावी भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ।
जीवन बीमा कम्पनीले बीमा लेख परिपक्क भएको १५ दिनभित्र भुक्तानी लिन आउन सार्वजनिक सूचना जारी गर्नपर्छ। तर बीमा लेख परिपक्क हुनुअघि नै बिमकको मृत्यु भएमा भने आवश्यक कागजात प्राप्त भएको १५ दिनभित्र दावी भुक्तानी दिइसक्नुपर्नेछ।
यसैगरी निर्जीवन बीमा कम्पनीहरुले पनि दावीका लागि निवेदन पेश भएको ३६ दिनभित्र भुक्तानी दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि सर्भेयरले १५ दिनभित्र रिपोर्ट दिनुपर्ने र त्यसको २१ दिनभित्र बिमितलाई भुक्तानी दिनुपर्नेछ।
यस्तै कम्पनीले क्षतिको अन्तिम मुल्याकन नहुँदै अनुमानित दायित्वको बढीमा एक तिहाई रकम आंशिक भुक्तानी दिन सक्ने व्यवस्था समेत गरिएको छ।
दावी भुक्तानीलाई व्यवस्थित बनाउन कम्पनीहरुले दावी भुक्तानी विभाग र उपसमिति गठन गर्नुपर्ने, यसको विवरण राख्नुपर्ने, दावी भुक्तानी सम्बन्धी कार्यविधि बनाइ लागू गर्नेपर्ने, आवश्यक काजजातको विवरण सुचना पाटी र वेवसाईटमार्फत सार्वजनिक गर्नुपर्ने र प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र समितिलाई दावी भुक्तानीसम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख गरिएको छ।
मार्गदर्शन अनुसार कम्पनीहरुले भुक्तानी नदिएमा विमितले समितिमा उजुरी गर्न सक्नेछन्।
Facebook Comment