दैनिक उपभोग्य वस्तुको चिन्ता नगर्न व्यवसायीहरुको आग्रह

डिसी नेपाल
२७ फागुन २०७६ १९:२५

काठमाडौं। कोरोना भाइरसका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्लाकाबीच विभिन्न क्षेत्रका व्यवसायीहरुले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले उपभोग्य वस्तुहरु पर्याप्त मात्रामा भण्डारण रहेको र आयात भइरहेकाले नआत्तिन आग्रह गरेका हुन्।

मंगलबार नेपाल खुद्रा व्यापार संघ, साल्ट ट्रेडिङ, एलपी ग्यास उद्योग संघ, औषधि उत्पादक संघ र नेपाल आयल निगमका पदाधिकारीहरुले नेपालमा कुनै पनि वस्तुको अभाव नरहेको बताएका हुन्।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बर्जाचार्यले उपभोक्ताहरु आत्तिएर ५, ६ बोरा चामल, ४, ५ लिटर तेल तर २० प्याकेटसम्म नुन किनेको पाइएको बताए। कुनै पनि वस्तुको मूल्य नबढेको र खाद्यन्न अभाव पनि नभएको उनले बताए।

नेपाल चेम्बर अफ कमर्सका आपूर्ति व्यवस्थापन समिति सभापति देवेन्द्रभक्त श्रेष्ठले थोक व्यापार संघले २ महिनाका लागि खाद्यन्न पर्याप्त रहेकाले कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १ लाख ५५ हजार मेट्रिक टनभन्दा बढी नुन साल्ट ट्रेडिङसँग रहेको बताइन्। गतवर्षको खपत भएको आँकडा भण्डारण रहेको मात्रा हेर्दा अझै ११ महिनासम्म पुग्ने नुन रहेकाले निर्धक्क भएर बस्न आग्रह गरिन्। चिनी पनि पर्याप्त मात्रामा रहेको भए पनि बजारमा आउन नसकेको उनले बताइन्।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले विगतमा आयात भइरहेको मात्रामै ग्यास आइरहेको बताए। प्रत्येक दिन नेपालभरी १ लाख सिलिण्डर खपत हुने गरेकोमा अहिले पनि त्यही अनुपातमा आयात भइरहेको उनले बताए। महिलामा १ सिलिण्डर खपत गर्ने उपभोक्ताले ३, ४ सिलिण्डर लिने गरेका कारण डिपोहरुमा लाइन देखिएको उनले बताए।

औषधि उत्पादक संघका पूर्व अध्यक्ष शंकर घिमिरेले औषधि कच्चा पदार्थ तीन महिनाका लागि र उत्पादन भएको औषधि तीन महिनाका लागि स्टक रहेको बताए। बजारमा ब्लड प्रेसर, सुगर र मधुमेहका रोगीहरुले बढी मात्रामा औषधि लिनेगरे पनि आपूर्तिमा कमि नहुने उनले बताए।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजल पाइँदैन भनेर घरमा होल्ड गरेर नराख्न आग्रह गरे। घरमा होल्ड गरेर राख्दा अर्को ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसतर्फ सचेत हुन उनले आग्रह गरे।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले सरकारले निगरानी र नियन्त्रणलाई महत्वपूर्ण रुपमा लिएको बताए। तेस्रो मुलुकबाट आउने नागरिकलाई निगरानी गर्ने र संक्रमणको आशंका भएकाहरुलाई नियन्त्रणमा लिएर अस्पताल लैजाने गरिएको उनले बताए। उनले सचेतना र सजगता अभिवृद्धिका लागि गाउँस्तरसम्म समिति गठन गरेर काम भइरहेको बताए।

आजै नेपाल सरकारले विभिन्न सरोकारवालाहरुसँग कोरोना भाइरसले जनजीवनमा पार्न सक्ने स्वास्थ्य, सामाजिक, आर्थिक, व्यााकिर र व्यवसायीक विषयमा छलफल गरेको छ । बैठकले सबै राजनीतिक दलहरुसँग समेत छलफल गरेर एकीकृत रुपमा अगाडी बढ्ने निर्णय पनि गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *