जलविद्युत् आयोजना र प्रसारण लाइनमा समस्या देखिएपछि …
काठमाडाैं। जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन्।
गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गति र मतिको बारेमा जानकारी लिएका थिए। सोमबार घिसिङ फागुपूर्णिमाको बिदाको दिन अर्को महत्वपूर्ण आयोजनाको स्थलगत निरीक्षणका लागि कालीगण्डकी करिडोर पुगे।
सो करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने तयारी भइरहेको सन्दर्भमा उनी आयोजनास्थल पुगेका हुन्। कूल ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सवस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
प्रसारण लाइन र सवस्टेसन आगामी वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ। दाना–कुश्मा खण्डमा पर्ने १० टावरमध्ये दुई मात्रै खडा गर्न बाँकी छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयवासीको अवरोधले दुई टावर खडा गर्न रोकिएको काम सहमति जुटेपछि धमाधम भइरहेको प्राधिकरणले जनाएको छ। पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब दुई किलोमिटर मात्रै तार टाँग्न बाँकी छ। दुवै सवस्टेसनमा उपकरण जडान भइसकेका छन्।
सोही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सवस्टेसनमा जोडिने छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सवस्टेसन र जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको प्राधिकरणले जनाएको छ ।
टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई अनुरोधसमेत गरेको छ। प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्याका बारेमा छलफल गरेको छ।
यस्तै, सवस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको हो। “प्रसारण लाइन र सवस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छौँ”, घिसिङले भने।
जतिसक्दो काम छिटो सम्पन्न गर्नुपर्ने र विद्युत् खेर फालेर हर्जना तिर्नुपर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नुपर्ने घिसिङको भनाइ छ। “केही ठाउँमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नुपर्छ”, घिसिङले भने। ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सवस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ।
मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा केही उपकरणको जडान, संरचना र उपकरणको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने छ । उहाँले उक्तः समयसम्म प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आइसक्ने बताए। अब प्रसारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युत् जडान गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि निर्माण तत्काल शुरु गर्नुपर्नेछ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो। करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सवस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण जारी छ। रासस
Facebook Comment