बाँस्कोटाको घरमा विस्फोट गराएको विप्लव समूहले के भन्यो?
काठमाडौं। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा भएको शक्तिशाली बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ।
घटनास्थलमा विप्लव समूहको पर्चा भेटिएको छ। जसमा बाँस्कोटालाई निक कारवाही भनेर दश बुँदा लेखिएको छ।
विप्लव समूह निकट मानिने अनलाइन इरातोखबरका अनुसार घटनास्थलमा भेटिएको पर्चामा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेको, २४ अर्वको स्याटेलाइट खरिद प्रकरणमा करोडौंको भ्रष्टाचार गरेको, १९ अर्बको फेरजी सेवा विस्तारका क्रममा करोडौं रकम दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ।
पूर्व मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको थियोे।
बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिए।
पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ। घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए।
बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन। ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्।
सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए। पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन्।
Facebook Comment